रियल मड्रिड आफ्नो घरेलु मैदानमा युक्रेनको क्लबविरुद्ध हारे पछि

रियल मड्रिडले च्याम्पियन्स लिगमा हार बेहोरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै पराजित भएको हो ।

खेलको २९ औं मिनेटमा टेटेले गोल गर्दै शाख्तरलाई सुरुवाती अग्रता दिलाए ।

३३ औं मिनेटमा रियलका रफायल भरानेले आत्मघाती गोल गर्दा रियल २-० ले पछि पर्यो ।

खेलको ४२ औं मिनेटमा शाख्तरका मानोर सोलोमोनले गोल गर्दा रियल पहिलो हाफमा ३-० ले पछि परेको थियो ।

दोस्रो हाफमा रियल मड्रिड खेलमा फर्कने कोशिस गर्यो ।

खेलको ५४ औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रियल ३-२ ले पराजित भयो ।

मोड्रिचको स्थानमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै भिनिसियसले गोल गरेका थिए ।

यस्तै खेलको इन्जुरी समयमा रियलका फेड्रिको भाल्भर्डेले गोल गरेका थिए । तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताबाट रेफ्रीले उनको गोललाई मान्यता दिएन । भिनिसियस अफसाइड रहेको कारण त्यस गोलले मान्यता नपाएको हो ।

जितसँगै समूह ‘बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ ।

रियलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

च्याम्पियन्स लिग अन्तर्गत नै समूह ‘ए’ को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।