जब मेस्सी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बने

पिएसजीका सुपरस्टार लिओनेल मेस्सीले आफ्नो क्यारियरमा धेरै उत्कृष्ट रेकर्डहरू बनाएका छन् र च्याम्पियन्स लिगमा एकै खेलमा ५ गोलको उनको रेकर्ड निकै प्रभावशाली रहेको छ।

नौ वर्ष अगाडी २४ वर्षका मेस्सीले बायर लेवरकुसेन विरुद्ध च्याम्पियन्स लिगको खेलमा ५ गोल गरे र उनी च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बने। सो खेल बार्साले ७-१ले जितेको थियो भने मेस्सीको उक्त उत्कृष्ट रेकर्डले त्यो खेल झन् यादगार बनेको थियो।

त्यो समय मेस्सी निकै उत्कृष्ट फममा थिए भने आफ्नो अविश्वसनीय क्षमताले उनले सबै फुटबल फ्यानहरूलाई चकित बनाए र सो खेलको चर्चा अझै पनि हुने गरेको छ।

“आज रात हामीले लिओनेल मेस्सीको सबैभन्दा विशेष रातहरू मध्ये एक देख्यौँ,” त्यो समयको बार्सा प्रबन्धक, पेप गार्डियोलाले भने। “यो हेर्नु भनेको उपहार प्राप्त गर्नु जस्तै हो।”

त्यो समय बार्सालाई रोक्न विपक्षी टिमलाई निकै गाह्रो हुने गरेको थियो भने सो खेल पछि सामाजिक सञ्जालमा मेस्सीको धेरै प्रशंसा भएको थियो।