जब फुटबलले रोक्यो गृहयुद्ध

सुडानको दोस्रो ठूलो सहर ओमडुरमनको अल मेरिख स्टेडियम । यसलाई विश्वको सबैभन्दा राम्रो रंगशालामध्ये एक पक्कै भन्न सकिन्न ।

तर रेड क्यास्टल नामले चिनिने यो रंगशालासँग विश्व फुटबलको एक गज्जबको असाधारण कथा भने जोडिएको छ ।

सन् २००५ को अक्टोबर ८ । सन् २००६ को विश्वकपमा अफ्रिकी छनोटको समीकरण सामान्य थियो । इजिप्टलाई हरायो भने क्यामरुन छैटौंपल्ट विश्वकपको अन्तिम चरण पुग्थ्यो ।

जितबाहेकको विकल्पमा आइभरिकोस्टको भाग्य चम्किन्थ्यो । उसले क्यामरुनलाई उछिन्ने हुन्थ्यो । र, पहिलोपल्ट विश्वकप खेल्ने हुन्थ्यो । त्यो छनोट खेलिरहेको टिमलाई आइभरिकोस्टको फुटबलमा स्वर्णिम पुस्ता मानिन्छ । त्यसको नेतृत्व गरिरहेका खेलाडी थिए, डिडियर ड्रोग्बा । उनी मात्र होइनन्, टिममा लन्डनको इंग्लिस फुटबलमा उत्तिकै चम्किरहेका अन्य खेलाडी पनि थिए । जस्तै, कोलोउ टाउरे, इमानुल इबोउ र डिडियर जोकोरा ।

याया टाउरे भने त्यति बेला ग्रिसतिर खेल्थे, ओलम्पियाकोजका लागि । उनी भर्खरै लय समात्ने क्रममा थिए । यो यस्तो टिम थियो, जसले अफ्रिकी फुटबलमा आफूले चिताएको नतिजा निकाल्न सक्थ्यो । छनोटमा भलै आइभरिकोस्ट क्यामरुनको हातबाट दुईपल्ट पराजित रह्यो, तर उसले पक्कै पनि बेजोड चुनौती पेस गरिरहेको थियो । सुडानको त्यो दिनको फुटबलमा सबै खाले सम्भावना खुला थियो । आइभरिकोस्टको फुटबल अद्वितीय इतिहास चुम्ने संघारमा थियो ।

तर आइभरिकोस्ट आफैं भने अन्धकार युगबाट गुज्रिइरहेको थियो । सन् २००२ बाट सुरु भएको गृहयुद्धले पूरा देशलाई विभाजनको संघारमा पुर्‍याएको थियो । राष्ट्रपति लुरेन्ट जिबागबोको पकडमा देशको दक्षिणी भाग थियो अनि विद्रोहीको नियन्त्रणमा उत्तरी भाग । विद्रोहीलाई भनिन्थ्यो, आइभरिकोस्टको नयाँ शक्ति र त्यसको नेतृत्व गरिरहेका थिए,गुलुमे सोरोले । त्यो वर्षको सेप्टेम्बर १९ बाट गृहयुद्ध सुरु भएको थियो । विद्रोहीले चौतर्फी आक्रमण प्रयास गरेको थियो ।

सेवास्टिन जिनाहोरे । उनी पूर्व फुटबल खेलाडी हुन् । गृहयुद्ध सुरु भएपछि उनी देश छाड्न बाध्य भए । उनी ती दिन सम्झेर भन्छन्, ‘स्थिति निकै नाजुक थियो । जति बेला मैले आफ्नी दिदीलाई फोन गरेको थिएँ, मैले उनको स्वरमात्र होइन, गोलीको आवाज पनि सुनिरहेको थिएँ । पूरा परिवार चार दिन एउटै खाटमुनि लुकेर बसेका थियौं । खाली खाना खोज्न मात्र बाहिर निस्कनुपथ्र्योे । त्यो बेला मेरो चिन्ता भनेकै परिवारका सबै सदस्यलाई केही नहोस् भन्ने मात्र थियो ।’

त्यो सुरुआती भिडन्त लामो समय टिकेन । दुवै पक्षले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा पकड बलियो बनाउने प्रयास गरेका थिए । सन् २००४ सम्म आउँदा गृहयुद्ध लगभग समाप्त हुने स्थितिमा थियो, तर सन् २००५ आइपुग्दा नपुग्दै तनाव फेरि बढ्न थाल्यो । फेरि एकपल्ट यो दक्षिण अफ्रिकी देशको भविष्य अन्धकारजस्तै देखिन थालेको थियो । आफ्नो देशमा के भइरहेको थियो, ती आधुनिक फुटबल खेलाडीले त्यसलाई निरन्तरपछ्याइरहेका थिए नै ।

ती खेलाडी धनी पनि थिए । देश जुन स्थितिबाट गुज्रिइरहेको थियो, त्यसमा उनीहरूले केही गर्न सकिरहेका थिएनन् । तर एउटा तथ्य उनीहरूलाई के राम्रोसँग थाहा थियो भने फुटबल मैदानबाट निस्कने एउटा उपलब्धिले यो सबै स्थिति परिवर्तन गर्न सक्छ । सन् २००४ मा ड्रोग्बा इंग्लिस क्लब चेल्सी आएका थिए, २ करोड ४० लाख पाउन्डको छेउछाउमा । उनले त्यहाँ ९ वर्ष बिताए । इंग्लिस प्रिमियर लिगमा बिताएको त्यो समयका धेरै विशेषता रहे ।

जस्तो, उनी प्रभावशाली रहे । सेन्ट्रल फरवार्डका रूपमा उनको खेल बेजोड थियो । उनका केही व्यवहार खेलाडीको जस्तो पनि रहेन, त्यसैले विवादमा पनि फसे । तर एउटा तथ्य के निश्चित थियो भने ड्रोग्बालाई मन पराउन सकिन्छ वा मन नपराउन पनि । तर उनको योगदान नकार्न भने सकिन्न । उनले हात पारेकाउपलब्धि आफैंमा ठूलो थियो । चार लिग उपाधि, चार एफए कप, तीन लिगकप अनि एक युरोपेली च्याम्पियन्स लिग उपाधि थिए ।

ड्रोग्बा खेलेका दिन, अधिकांस समय आर्सनलका लागि खराब दिन साबित भयो । त्यसैले त्यो बेलाका आर्सनल व्यवस्थापक आर्सन वेंगर भन्थे, यी खेलाडी विजेता हुन् । उनी वास्तवमै विजेता खेलाडी थिए, तर अक्टोबरताकाको एउटा खेलमा उनीमाथि असाध्यै धेरै दबाब थियो । र, यो सर्वथा फरक पनि थियो । याउन्डेमा क्यामरुन र इजिप्टको खेल अनि यता आइभरिकोस्ट र सुडानबीचको खेल एकै समय सुरु भएको थियो । आइभरिकोस्टलाई राम्रोसँग थाहा थियो, सबैभन्दा पहिले यो खेल नै जित्नुपर्छ ।

सुडानी टिम कमजोर नै थियो । आइभरिकोस्ट विजयी रह्यो । अरुना डिडानेले तीन गोल गरेका थिए । सुडानले खेलको अन्त्यतिर फर्काएको एक गोलको केही अर्थ रहेन । अब त्यस सहरको १ हजार ६ सय माइल पर याउन्डेमा सबैको नजर थियो । त्यहाँ २० औंमिनेटमा क्यामरुनले अग्रता लिए पनि इजिप्ट कमजोर टिम थिएन । टोलीले ७९ औं मिनेटमा बराबरी गोल फर्कायो । खेल १–१ को स्थितिमा आयो र परिस्थिति आइभरिकोस्टको पक्षमा मोडियो ।

आइभरिकोस्टको ड्रेसिङ रूममा ड्रोग्बा बीचमा थिए । उनलाई चारैतर्फबाट अरू खेलाडीले घेरिरहेका थिए । उनीहरू सबै रेडियोमा कमेन्ट्री सुनिरहेका थिए । खेल सकिन केही सेकेन्डमात्र बाँकी रहेका बेला क्यामरुनले अप्रत्याशित ढंगले पेनाल्टी पायो, यो वास्तवमै रेफ्रीको निकै नरम खाले निर्णय थियो । इन्ज्युरी समयको चौथो मिनेटमा क्यामरुनले पेनाल्टी पाएको थियो । प्रत्येक नाटकीय कथामा एउटा पक्षको मन छियाछिया हुन्छ नै । यो कथामा पनि केही फरक थिएन ।

पिएरे वोमेको पेनाल्टी प्रहार पोस्टमा ठोक्किएर बाहिरियो । क्यामरुनी खेलाडीले विश्वास नै गर्न सकेनन् । अधिकांशले अविश्वसनीय भावले आफ्नो मुख छोपिरहेका थिए । तर यता आइभरिकोस्ट भने पहिलोपल्ट विश्वकपमा छनोट भएको क्षण थियो, त्यो । त्यतिबेला पूरा आइभरिकोस्ट खुसी भएको थियो । सबैले बिर्से, राजनीतिक रूपमा यो देश विभाजित छ । अन्त्यमा आइभरिकोस्टका खेलाडीले सामूहिक प्रार्थना गरे, ड्रेसिङ रूममा । लगत्तै प्रत्यक्ष प्रसारण गरिरहेको टीभी पनि त्यहीं पुग्यो ।

खेलाडीहरू एकअर्कालाई काँधमा हात राखेर बेरिएका थिए । बीचमा थिए तिनै ड्रोग्बा । उनको नजिक क्यामरा पुग्यो अनि माइक्रोफोन । उनले बोल्न सुरु गरे, ‘आइभरिकोस्टका सबै महिला तथा सज्जनवृन्द । उत्तर, दक्षिण, मध्य र पश्चिम, आइभरिकोस्टमा सबैको समान अस्तित्व छ । सबै सँगै मिलेर खेल्न सक्छन् । विश्वकपमा छनोट पनि हुन सक्छन् । मलाई पूरा विश्वास छ, फुटबलको यो सफलताले हामीलाई एकताको सूत्रमा बाँध्नेछ ।’

उनले थपे, ‘हामी धेरैथोकमा धनी छौं, त्यसैले युद्ध हाम्रो विकल्प होइन । कृपया सबैले हतियार त्यागौं र चुनावमा भाग लिऔं ।’ त्यतिबेलासम्म आइभरिकोस्टमा पूरा खुसीयाली छाइसकेको थियो । इजिप्टको राजदूतावास बाहिर हजारौं जनता जम्मा भए र क्यामरुनलाई बराबरीमा रोकेकामा धन्यवाद दिए । त्यसको बिहान राजनीतिक स्थिति उस्तै थियो । देश अझै विभाजित थियो । तर केही दिनमै नाटकीय परिवर्तन सुरु भयो, ड्रोग्बाकोभाषण बजेको बज्यै थियो टीभीहरूमा । चर्को दबाबपछि सरकार र विद्रोही एउटै टेबलमा आए र युद्धविराममा हस्ताक्षर भयो ।

@Kantipur