जब च्याम्पियन्स लिगमा रियल बिरुद्ध लेवान्डोस्कीले ४ गोल गरे 

आजको दिन २०१३मा रोबर्ट लेवान्डोस्कीले निकै उत्कृष्ट रेकर्ड बनाएका थिए। सो समय डर्टमन्डबाट खेल्दै उनले च्याम्पियन्स लिगमा रियल म्याड्रिड विरुद्ध ४ गोल गरे र च्याम्पियन्स लिगमा रियल विरुद्ध ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने।

रियलको च्याम्पियन्स लिगमा निकै ठुलो र उत्कृष्ट इतिहास छ र रियल १३ पटकको च्याम्पियन पनि हो। रियललाई च्याम्पियन्स लिगमा जहिले पनि दाबेदार मानिने गरेको छ भने २०१३मा डर्टमन्डले रियल चकित पार्‍यो जसमा लेवान्डोस्कीले ४ गोल गरे। उनले १७ मिनेट भित्र ३ गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए र रियल विरुद्ध डर्टमन्डले ४-१को अप्रत्याशित जित निकालेको थियो।

उक्त जितमा लेवान्डोस्कीको प्रदर्शनको धेरै चर्चा भएको थियो भने सो खेलले पनि उनलाई एक स्टार स्ट्राइकरको रूपमा स्थापित गर्न मद्दत गर्‍यो। सो खेल पछि डर्टमन्डको पनि धेरै प्रशंसा भएको थियो।

“त्यो रोबिन हूडले धनीबाट लिएको जस्तो थियो,” क्लोपले उक्त पहिलो लेगको सेमिफाइनल खेल पछि भने। आज उक्त खेल भएको ८ वर्ष पुरा भएको छ र सामाजिक सञ्जालमा उक्त खेल बारे हाल फेरी चर्चा हुँदै गरेको छ।