छैटौं बालोन डी’ओर जित्नेमा रोनाल्डो आशावादी

क्रिस्टियानो रोनाल्डोले यस वर्षको ब्यालोन डी’ओर अवार्ड आफैंले जित्नेमा आशावादी रहेको बताएका छन् ।

सोमबार म्याड्रिडमा अयोजित कार्यक्रममा रोनाल्डो मार्सा लेजेन्डको अवार्डबाट सम्मानित भएका थिए । स्पेनिस खेलकुदमा निकै प्रतिष्ठित संचारमाध्यम मार्साले प्रदान गर्ने यस अवार्ड युरोपकै शीर्ष अवार्डमा पर्दछ । उक्त अवार्ड समारोहमा बोल्दै रोनाल्डोले यस सिजनको उपाधि जित्नेमा आशावादी रहेको बताएका हुन् ।

‘मलाई आशा छ की म छैटौं उपाधि जित्न सकूँ । मैले म्याड्रिड छाडेर गएपनि करिअरमा लगातार सफलता हात पार्दै आएको छु । ३३ वर्षको उमेरमा ९ वर्षपछि म्याड्रिड छाडेपनि गत सिजन मेरो लागि राम्रो भयो । मैले क्लबसँग रहेर इटालियन लिग र कोपा इटालीया तथा पोर्चुगलबाट नेसन्स लिग उपाधि जित्न सकें । मेरो लागि व्यक्तिगत रुपमा र टोलीसँग रहेर पनि उत्कृष्ट मध्यको एक सिजन रहयो,’ रोनाल्डोले भने ।

रोनाल्डोले हालसम्म ५ पटक ब्यालोन डी’ओर उपाधि जितिसकेका छन् । उनीसँगै बार्सिलोना कप्तान लिओनेल मेस्सीले पनि समान ५ पटक उपाधि जितेका छन् । गतवर्ष क्रोएसियाका कप्तान लुका मोड्रीचले उक्त उपाधि हात पार्दा रोनाल्डो दोस्रो भएका थिए भने मेस्सी शीर्ष ३ मा परेका थिएनन् ।