छिटै कोचिङमा फर्किनेछु : जिदान

गत मईमा रियल मेड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि अप्रत्याशित रुपमा राजिनामा दिएका फ्रेन्च लिजेण्ड जिनेदिन जिदानले आफू छिटै कोचिङमा फर्किने बताएका छन् ।

स्मरणीय छ कि जिदान रियलको सबैभन्दा सफल म्यानेजरहरु मध्ये एक हुन् । उनले स्पेनीस सञ्चारमाध्यमसँग कुरा गर्दै आफू आउने दिनहरुमा छिटै मैदानमा फर्किने खुलासा गरेका छन् । जिदान भन्छन् “यसबारेमा कुनै शंका छैन । म छिटै कोचिङमा फर्किने छु । किनकी यो यस्तै कुरा हो जसमा मैले मजा लिने गर्छु ।”

स्पेनीस अखबार एएसका अनुसार जिदानको नाम हाल इङलिस क्लब म्यानचेष्टर युनाइटेडसँग जोडिएर निकै चर्चा पाईरहेको छ । खबर यतिसम्म बाहिर आएको थियो कि क्लबका खेलाडीहरुले वर्तमान म्यानेजर जोसे मौरिन्होको विकल्पका रुपमा जिदानबारे चर्चा समेत गर्न शुरु गरेका थिए ।

पोर्चुगिज म्यानेजर मौरिन्होका लागि ओल्ड ट्राफोर्डमा नयाँ सिजन खासै राम्रो हुन सकेको छैन । परिणाम स्वरुप उनी बर्खास्तीको संघारमा पुगेको बताईन्छ । यद्यपि युनाइटेडका उपाध्यक्ष एड वुडवर्डले मोरिन्होलाई समर्थन गरिरहेका छन् ।

पछिल्ला दिनहरुमा आएको खबरअनुसार जिदानले क्लबको ट्रान्सफर टार्गेटको सूची समेत तयार पारीरहेका छन् । यदि उनले मौरिन्होलाई ओल्ड ट्राफोर्डमा विस्थापित गर्न सके उनले त्यो सूचीमा परेका खेलाडीहरुलाई हर हालतमा अुनबन्ध गर्ने बताइएको छ ।

स्रोतकाअनुसार यदि मौरिन्होसँगको विवाद साम्य नभए जिदानले आफ्ना साथीहरुलाई भनेअनुसार उनी म्यानचेष्टर युनाइटेडेको एक फोन कलको पर्खाईमा समेत छन् ।