च्यासलमाथी मनाङले गर्यो गोलको वर्षा

कतार एयर्वेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले शानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५-० गोल अन्तरले हराएको हो ।

मनाङलाई जित दिलाउन आफिज ओलावालेले ह्याट्रिक गोल गरे । यस्तै एडिलाजा सोमिडे र दिनेश राजवंशीले एक एक गोल गरे ।

पोखरा रंगशालामा ह्याट्रिक जित निकाल्ने क्रममा मनाङले पहिलो हाफमै दुई गोल गरेको थियो ।

तेस्रो मिनेटमा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४३ औं मिनेटमा ओलावालेले गोल गरेपछि मनाङ पहिलो हाफमा २-० ले अघि रह्यो  ।

खेलको ८६ औं मिनेटमा दिनेशले गोल गर्दै मनाङलाई ३-० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ४-० को अग्रता दिलाए ।
त्यसको एक मिनेटपछि नै ओलावालेले ह्याट्रिक पूरा गर्दा मनाङ ५-० ले विजयी भयो।

पोखरा रंगशालालाई होम मैदान बनाएको मनाङले यस सिजन तीन खेल खेलेको हो । जसमा मनाङ तीनै खेलमा विजयी भयो ।

मनाङले यस अघि नेपाल पुलिस र ब्रिगेड ब्वाइजलाई पोखरा रंगशालामा हराएको थियो ।

जितसँगै मनाङले ८ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

च्यासलले ८ खेलमा ५ अंक जोडेको छ । च्यासल लिगको १३ औं स्थानमा रहेको छ ।