च्यासलका फरवार्ड सन्तोष जापान फर्किए

जापानबाट ए डिभिजन लिग खेल्न आएका फरवार्ड सन्तोष साहुखल पुन: जापान फर्किएका छन् । च्यासल युवा क्लबबाट लिगका ५ खेल खेल्दै सन्तोषले ३ गोल गरे ।

सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौं चरणसम्म खेल्ने यसअघि नै बताएका थिए । तर लिगका दुई खेल दोहोरो पहेंलो कार्ड र रेड कार्डका कारण गुमाउँदा उनले दुई खेल गुमाए । च्यासल र मनाङको खेलमा उनले खेलेका थिएनन् ।

यसअघि च्यासलका मुख्य फरवार्ड विमल घर्ती मगर पनि प्रशिक्षणका लागि बेल्जियम लागिसकेका छन् । सन्तोषको प्रस्थानसँगै टोलीमा अग्रपंक्तिको जिम्मेवारी विदेशी खेलाडी एल्भिसमा हुनेछ । उनले च्यासलबाट पछिल्लो खेल खेलिसकेका छन् । त्यसबाहेक सन्तबहादुर गुरुङ, सुनिल खड्कासँगै संजोक राईले पनि अग्रपंक्तिको भूमिका निर्वाह गर्न सक्नेछन् ।