च्याम्पियन मनाङ अन्तिम खेलमा फ्रेन्ड्स क्लबसंग पराजित

च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसंग १ – ० गोल अन्तरले पराजित भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा पाएको मौका सदुपयोग गर्न नसक्दा मनाङले फ्रेन्ड्ससंग अप्रत्यासित हार व्यहोरेको हो । फ्रेन्ड्सको जितमा विकास लामाले निर्णायक गोल गरे । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा विकासले हेड गोल गर्दै फ्रेन्ड्सलाई जित दिलाएका हुन् ।

लिगको अन्तिम खेलमा फ्रेन्ड्ससंग पराजित भएसंगै मनाङको अपराजित रहेर लिग जित्ने योजना अधुरो बनेको छ ।
‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौं उपाधि हो ।