च्याम्पियन्स लिग फाइनलमा आज टोटेनह्याम र लिभरपुल भिड्दै; पुरा जानकारी

च्याम्पियन्स लिगको फाइनल खेल आज हुँदैछ। वान्डा मेट्रोपोलिटेनो स्टेडियममा नेपाली समय अनुसार आज रातिको १२ः४५ देखि खेल सुरु हुनेछ ।

मे ५ मा लिभरपुलको घरेलु मैदानमा बार्सिलानाविरुद्ध चार गोल गर्दै फाइनलको यात्रा तय गरेको इंग्लिस क्लबले पहिलो लेगको खेलमा तीन गोलको सामना गर्नु परेको थियो।

त्यस्तै टोटनहेमले आयाक्सविरुद्ध आफ्नै मैदानमा गोल गर्न सकेन । पहिलो लेगको खेल १–० को गोलअन्तरले आयाक्सले जित्यो तर दोस्रो लेगमा टोटनहेमले २ का विरुद्ध ३ गोल गर्दै फाइनलमा आफूलाई उभ्याउन सफल बन्यो।

इंलिस प्रिमियर लिगमा लिभरपुल र टोटनहेम क्रमशः दोस्रो र चौथो स्थानमा छन्। त्यस्तै यो सिजनको राष्ट्रिय लिगमा भएको खेलमा लिभरपुलले टोटनहेमलाई दुवै खेलमा २–१को गोलअन्तरले हराएको छ।

लिभरपुलले आफ्ना दुई उत्कृष्ट खेलाडी मोहम्मद सलाहा र रोबर्टो फर्मिनोलाई बेन्चमै राखेरसमेत बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भयो। साथै यो क्लब प्रिमियर लिग च्याम्पियन भन्दा १ अंकले मात्रपछि छ । यसरी हेर्दा लिभरपुलले खेल जित्ने सम्भावना प्रवल देखिन्छ ।

टोटनहेममा विश्वकै केही अब्वल खेलाडी समावेश छन्। हेरी केन विश्वकप २०१८ को गोल्डेन बुट विजेता हुन् । उनले इंग्ल्याण्डलाई सेमिफइनलसम्म पुर्याउन सफल बने। केनलाई साथ दिन एरिक्सन, सोन ह्युङ–मिन जस्ता खेलाडी छन्।