च्याम्पियन्स लिग ट्रफी क्याम्प नाउ मा ल्याउने छु – मेस्सी

मेस्सी को लक्ष्य च्याम्पियन्स लीग ट्रफी क्याम्प नूलाई फिर्ता ल्याउनु रहेको उनले बताएका छन् ।

बार्सिलोनाका साबिकका कप्तान इनिएस्ता जापानी क्लब भिस्सेल कोबेबाट खेल्न थालेपछि लियोनेल मेस्सीलाई कप्तानी दिइएको हो ।

बार्साका यी फर्वार्डले क्याम्प नूमा भेला भएका मानिससमक्ष परम्परागत रूपमा कप्तानले गर्ने सम्बोधन गरेका थिए ।

बुधवार जोआन गाम्पर ट्रफीका लागि बोका जुनियर्सविरुद्ध भएको प्रतिस्पर्धाअगाडि उनले सम्बोधन गरेका थिए ।

‘शुरूमा त, कप्तान हुन पाउनु मेरा लागि गर्वको कुरा हो । बार्साको कप्तान हुनुको अर्थ के हो मलाई थाहा छ । मैले पुयोल, जाभी र महान् आन्द्रेस जस्ता खेलाडीबाट सिक्न पाएँ,’ उनले भने ।

मेस्सीले अघिल्लो सीजनको च्याम्पियन्स लीगको क्वार्टरफाइनलमा रोमाविरुद्धको हारपछि अब आफ्नो पहिलो एजेन्डा च्याम्पियन्स लीग जित्नु रहेको बताए ।

‘यो वर्ष हामीले उत्साहित हुने अवसर सिर्जना गरेका छौं । भित्र्याइएका नयाँ खेलाडीले हामीलाई थप राम्रो बनाउनेछन् भन्ने विश्वास गर्छु । अघिल्लो वर्ष हामीले ला लिगा र कोपा देल रे जितेको भएपनि च्याम्पियन्स लीगमा हार बेहोर्नुप–यो । त्यो सुन्दर कप क्याम्प नूमा फर्कियोस् भन्नका लागि गर्नुपर्ने सबै काम गर्छौं भन्ने हाम्रो प्रतिज्ञा छ,’ मेस्सीले भने ।