‘च्याम्पियन्स लिग जित्न’ युभेन्टस पोग्बा र मार्सेलो एकसाथ भित्र्याउँदै

हालसालै स्पेनिस रियल मड्रिडबाट ‘मिस्टर च्याम्पियन्स लिग’ भनेर चिनिने पोर्चुगिज क्रिस्टियानो रोनाल्डोलाई अप्रत्यासित रूपमा भित्र्यााएको इटालियन क्लब युभेन्टसले अर्को ‘भव्य योजना’ बनाइरहेको खबर सार्वजनिक भएको छ । ३३ वर्षीय रोनाल्डोलाई च्याम्पियन्स लिग जित्नकै लागि भित्र्याएको उसले लिग जित्ने योजनालाई थप बलियो बनाउन अन्य दुई स्टार खेलाडीमाथि आँखा लगाएको खबर इटालीका पत्रिकाले छापेका छन् ।

युभेन्टसले आगामी जनवरी विन्डोमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बा र रोनाल्डोकै पूर्वटिममेट मार्सेलोलाई एकसाथ भित्र्याउन तयारी गरेको छ । पोग्बा युभेन्टसकै पूर्वखेलाडी हुन् । पछिल्ला खबरअनुसार पोग्बा रोनाल्डोसँग खेल्न युभेन्टस नै फर्किन चाहन्छन् भने मार्सेलोलाई रोनाल्डोको चाहनामा युभेन्टसले इटालीमा उतार्न चाहेको छ ।

केही समयअघि पोग्बाले एक अन्तर्वार्तामा आफू रोनाल्डोसँग खेल्न पुनः युभेन्टस जान सक्ने बताएका थिए । तर, मार्सेलोले भने आफ्नो सरुवा चर्चाबीच आफू रियलमै रहने र त्यहींबाट सन्यास लिने बताएका थिए ।