युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पिन्स लिग, युरोपा लिग र महिलाको च्याम्पियन्स लिग फुटबलको फाइनल पछाडि सारेको छ ।
तय कार्यक्रम अनुसार तीनै प्रतियोगिताको फाइनल मे महिनामा हुनुपर्ने थियो । कोरोना भाइरसको महामारीका कारण फाइनलपछाडि सारिएको हो । फाइनलको नयाँ मिति पनि तोकिएको छैन ।
महासंघले पूरा प्रतियोगिता नै अर्को महिनासम्मका लागि सारिसकेको छ । खेलका नयाँ मितिबारे कुनै पनि प्रकारको निर्णय नभएको पनि यूईएफएले जनाएको छ ।
पुरुष च्याम्पियन्स लिगको फाइनल यसपल्ट मे ३० मा इस्तानबुलमा हुने कार्यक्रम थियो । यस्तै युरोपा लिगको फाइनल त्यसको तीन दिन अगाडि पोल्यान्डको जिडान्स सहरमा हुने कार्यक्रम थियो ।
महिलाको च्याम्पिन्स लिग फाइनल भने मे २४ मा भिएनामा हुने भनिएको थियो । पुरुषतर्फ च्याम्पियन्स लिगको अन्तिम १६ दोस्रो लेगका चार खेल भइसकेका छन् । त्यसपछि कोरोना भाइरसको संक्रमण भएपछि प्रतियोगिता रोकिएको थियो । युरोपका सबै प्रमुख लिग पनि अहिले स्थगितको स्थितिमा रहेका छन् ।
सन् २०२० मा हुने भनिएको युरोपेली च्याम्पियनसिप अर्को वर्ष हुने घोषणा भइसकेको छ । अहिलेसम्म च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न सफल टिममा एट्लेटिको म्याड्रिड, पेरिस सेन्ट जर्मेन, एटलान्टा, आरबी लेप्जिग रहेका छन् । प्रतियोगिता अनिश्चत भएपछि यसले महासंघलाई ठूलो आर्थिक भार हुन सक्नेछ ।
@Kantipur