च्याम्पियन्स लिगमा रोनाल्डोले १० वर्षपछि यस्तो खराब रेकर्ड बनायो

क्रिस्टियानो रोनाल्डो युरोपियन च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक सफल खेलाडी मानिन्छन् । उनी एक्लैले यो उपाधि पाँचपटक जितिसकेका छन् ।

पछिल्ला तीन सिजन लगातार यो उपाधि जितेका पोर्चुगिज रोनाल्डोले यस प्रतियोगितामा अनेक अपत्यारिला रेकर्ड बनाएका छन् । कतिपय रेकर्ड त आगमी दिनमा कुनै पनि खेलाडीका लागि तोड्न असम्भवजस्तै पनि छन् ।

तर, यसपटक भने रोनाल्डोको नाममा खराब रेकर्ड बनेको छ । यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालियन युभेन्टस पुगेका रोनाल्डो १० वर्षको इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको समूह चरणका खेलमा १ भन्दा बढी गोल गर्न असफल भएका छन् ।

जुन उनको करिअरमा यो पछिल्लो १० वर्षयताकै खराब रेकर्ड हो । यो सिजन समूह चरणका खेल सकिँदा रोनाल्डोले ५ खेलबाट मात्रै १ गोल गरेका छन् । २ गोलका लागि पास मिलाएका छन् । उनले सो गोल आफ्नो घर टुरिनमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेका थिए ।

त्यसअघि उनले भ्यालेन्सियाविरुद्धको पहिलो खेलमा २९औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेका रोनाल्डो योङ ब्वाइजविरुद्धको खेलमा प्रतिबन्धमा परेका थिए । त्यसपछि लगातार मैदान उत्रेका उनले समूह चरणमा १ भन्दा बढी गोल गर्न सकेनन् ।

रोनाल्डो च्याम्पियन्स लिगमा पछिल्ला ६ सिजनका लगातारका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । लगातार ६ सिजन धेरै गोल गर्ने उनी मात्रै एक्लो खेलाडी हुन् ।

तर, यो सिजन रोनाल्डोका लागि सुखद् देखिएको छैन । उनले हालसम्म १ गोल मात्रै गरेका छन् ।

तथ्यांकअनुसार रोनाल्डोले सिजन २००९/१० यता समूह चरणमा कम्तीमा २ भन्दा बढी गोल गरेका छन । उनले सिजन २०१५/१६ को सिजनमा त समूह चरणमै ११ गोल गरेका थिए ।
यस्तो छ रोनाल्डोको समूह चरणका गोलको रेकर्ड :
२००९/१० – ६ गोल

२०१०/११ – ४ गोल

२०११/१२ – ३ गोल

२०१२/१३ – ६ गोल

२०१३/१४ – ९ गोल

२०१४/१५ – ५ गोल

२०१५/१६ – ११ गोल

२०१६/१७ – २ गोल

२०१७/१८ – ९ गोल

२०१८/१९ – १ गोल