च्याम्पियन्स लिगमा बार्सिलोनाको घरेलु मैदान मै लज्जास्पद हार

पीएसजीले च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फराकिलो जित निकालेको छ ।

मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो ।

क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर,३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो ।

७० औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजीले ३-१ को अग्रता बनायो ।

त्यसपछि खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-१ ले विजयी भयो ।

यस जितसँगै पीएसजीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

दोस्रो लेग खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ ।