च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

च्याम्पियन्स लिगमा  बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सीमित बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ ले पराजित गरेको हो ।

बार्सिलोनाले समूह ‘जी’ अन्तर्गत खेलको २७ औं मिनेटमा कप्तान मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र अदनान कोभाचेभिचले मेस्सीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए जसमा उनी चुकेनन् । त्यसअघि २२ औं मिनेटमा फिलिपे कोउटिन्होको प्रहार पोस्टभन्दा थोरै टाढाबाट बाहिरिएको थियो ।

बार्सिलोनाले एकतर्फी आक्रमण बुनेको खेलमा दोस्रो गोलको लागि पनि लामो प्रतीक्षा गर्नु परेन । युवा विंगर अन्सु फातीले सानदार गोल गर्दै अग्रता दोब्बर पारे । फ्रेन्की डे जोङको लामो पासलाई फातीले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा नै गोल गरे । पहिलो हाफको अन्त्यमा बार्साका सर्जिनो डेस्टको प्रहारलाई डिफेन्डरले ब्लक गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले ३ गोलको अग्रता लियो । फातीको पासमा कोउटिन्होले गरेको प्रहार डिफेन्डको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । ५८ औं मिनेटमा मेस्सीको फ्रिकिक प्रहार सफल हुन सकेन । लगत्तै अर्कोतर्फ दुर्लभ देखिएको फेरेन्कभारोसका लागि इजाएलको प्रहारले पोस्टको दिशा लिन सकेन ।

खेलको ६८ ऐन मिनेटमा बार्सिलोना १० खेलाडीमा झर्यो । डिफेन्डर जेरार्ड पिकेले पेनाल्टी क्षेत्र भित्र लडाएपछि चोट ग्वेंलाई लडाएपच्जी रेफ्रीले सिधै रातो कार्ड दिए । उक्त पेनाल्टीलाई इहोर खरातिनले गोल गर्दै स्कोर ३-१ को स्थितिमा ल्याए । यस रातोकार्डसँगै पिकेले युभेन्टसविरुद्ध हुने खेल गुमाउने पक्का गरेको भएको छ ।

८२ औं मिनेटमा बार्सिलोनाले अर्को गोल थप्दै तीन गोलको अग्रता पुन: स्थापना गर्यो । ओस्मान डेम्बेलेको पासमा पेड्रीको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।

निर्धारित ९० मिनेटको एक मिनेट समय बाँकी रहँदा बार्सिलोनाले पाँचौ गोल थप्यो । कप्तान मेस्सीको पासमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४ गोलले अगाडी बढाए । थप समयमा दुवै तर्फबाट गोल नहुँदा खेल ५-१ मा सकियो ।