च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी

युवा खेलाडी अन्सु फाती च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । त्यसै गोलको मदतले मंगलबार राति बार्सिलोनाले इन्टर मिलानलाई २–१ ले हरायो ।

गोल गर्दा उनको उमेर १७ वर्ष ४० दिन छ । उनी स्पेनका खेलाडी हुन् ।

खेलको ८५ औं मिनेटमा १७ वर्षीय फाती सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरे र लुइस स्वारेजको पासमा गोल गरे ।

खेलपछि उनले भने, ‘यो गोलका लागि म निकै खुसी छु । मेरो गोलले इन्टरका समर्थक भने स्तब्ध रहे ।’

उनकै गोलका कारण इन्टर पराजित रह्यो र नकटआउट चरणमा प्रवेश गर्न असफल रह्यो । फातीले भनेका छन्, ‘च्याम्पियन्स लिगमा गोल गर्ने सबैको सपना हुन्छ ।

मैले यही पूरा गर्न सकेको छु ।’ उनी क्लब बार्सिलोनाका लागि पनि सबभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।

गुएनामा जन्मिएका फातीको परिवार नै फुटबलमा छ भन्दा हुन्छ । उनका बुबा पनि पूर्व फुटबलर हुन् । उनका दुई दाइ पनि फुटबल खेलाडी हुन् । एकजना दाइ क्लब सेभियाका लागि खेल्थे ।

फाती जुलाइ २०१९ देखि क्लब बार्सिलोनामा आवद्द भएका हुन् । २५ अगस्टमा रियल बेटिससँगको बार्साका लागि पहिलो खेल खेल्दा उनी यो क्लबका लागि खेल्ने दोस्रो कान्छो खेलाडी बनेका थिए ।