च्याम्पियन्स लिगमा रियल म्याड्रिड अझै जित बिहिन

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती समूह बी को खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग हारबाट जोगिएको छ । बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै खेल २-२ को बराबरी गर्न सफल भएको हो ।

खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । उनले एलेसन प्लेयाको पासमा गोल गरेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा थुरामले नै अग्रता दोब्बर पारे । प्लेयाको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाएपछिको रिबाउन्डमा थुरामले गोल गरे ।

खेलको ८७ औं मिनेटसम्म पनि २-० ले पछि रहेको रियल म्याड्रिड अन्तिम समयमा दुई गोल गरेपछि हारबाट जोगियो । ८७ औं मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनले क्यासेमिरोको पासमा ओभरहेड किकमार्फत गोल गरेका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यासेमिरोले सर्जियो रामोसको पासमा गोल गर्दै खेल बराबरी गरे ।

त्यसअघि ग्लाडबाकले खेल २-० को अवस्थामा रहँदा अग्रता बढाउने अवसर चुकाएको थियो । प्लेयाले कोर्टुवासँग वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । लार्स स्टीन्डलको प्रहार पनि पोस्टभन्दा बाहिरिंदा रियलले पुनरागमन गर्ने अवसर पाएको थियो ।

यसअघि पहिलो खेलमा पनि ग्लाडबाक बराबरीमा नै रोकिएको थियो । उक्त खेलमा इन्टर मिलानका रोमेलु लुकाकुले अन्तिम मिनेटमा गोल गर्दा खेल २-२ को बराबरीमा सकिएको थियो । यस बराबरीका बाबजुद रियल अंक तालिकामा भने पुछारमा नै रहेको छ । लगातार चौथो हार बेहोर्नबाट बचेको रियलको २ खेलमा १ अंक छ ।

समूहको अर्को खेलमा इन्टर मिलान र शाख्तर डोनेस्कले गोलरहित बराबरी खेले । यससँगै शाख्तर ४ अंकसहित शीर्षस्थानमा छ । ग्लाडबाक र इन्टर मिलानको २-२ अंक छ ।