च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड र लिभरपुल खेल्ने

लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । नेपाली समयअनुसार बिहीबार बिहान इटालीको रोममा भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा लिभरपुल घरेलु टोली रोमासँग ४–२ ले पराजित भए पनि एग्रीगेटमा अघि रहँदै फाइनल प्रवेश गरेको हो ।

अघिल्लो लेग ५–२ ले जितेकाले समग्रमा ७–६ को जितसहित लिभरपुलले फाइनलमा स्थान बनाएको हो । यस खेलमा लिभरपुलका लागि साडियो माने र विन्जालडुमले पहिलो हाफमा १–१ गोल गरेका थिए । मानेले खेलको नवौं मिनेटमा गोल गर्दा विन्जालुमले २५औं मिनेटमा गोल गरे ।

पहिलो हाफमा लिभरपुलले आफ्नै पोस्टमा १ गोल गरेको थियो । जहाँ रोमाले जेम्स मिल्नरबाट उपहार गोल पायो । उनले खेलको १५औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

त्यसपछि पहिलो हाफमा लिभरपुल २–१ ले अगाडि रह्यो ।
दोस्रो हाफमा घरेलु टोली रोमाले सुरुबाटै खेलमा फर्किने संकेत गरेको थियो । खेलको ५२औं मिनेटमा इडेन जेकोले गोल गरेर खेल २–२ को बराबरी बनाएका थिए ।

त्यसपछि खेलको ८६औं मिनेटमा रोमाले अर्को गोल थप्यो । राड्जाले तेस्रो गोल गरेपछि रोमा ३–२ ले अगाडि रह्यो । त्यसपछि थप गरिएको समयमा रोमाका लागि राड्जाले नै पेनाल्टीबाट गोल गरेपछि खेल ४–२ मा पुर्याए ।

तर, उसलाई फाइनल यात्रा सुरक्षित गर्न त्यत्ति मात्रै पर्याप्त भएन । दोस्रो लेग जिते पनि पहिलो लेग २–५ ले हारेकाले रोमा समग्रमा ७–६ ले पछाडि रह्यो । र, उसले फाइनलको बाटो लिभरपुललाई जिम्मा लगायो ।

यससँगै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्पेनिस रियल मड्रिडसँगको भेट पक्का गरेको छ । रियल अघिल्लो दिन जर्मन क्लब बार्यन म्युनिखलाई हराएर फाइनल प्रवेश गरेको थियो ।