‘च्याम्पियन्स लिगको जितमा बार्सिलोनालाई रेफ्रीको साथ’- रोमाका प्रशिक्षक

 च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा आफ्नो टोली ४–१ ले पराजित हुँदा घरेलु टोली बार्सिलोनालाई रेफ्रीको साथ रहेको रोमाका प्रशिक्षक युसबियो डी फ्रान्सेसकोले आरोप लगाएका छन् ।

फ्रान्सेसकोले आफ्नो टोलीले सोचे अनुरुप खेल्न नसकेको स्वीकारे पनि रेफ्रीले रोमा प्रति अन्याय गरेको गुनासो गरेका छन् । रेफ्रीले सहि निर्णय दिएको भए खेलको नतिजा अर्कै हुने दाबी गर्दै उनले रेफ्रीले रोमालाई दुईवटा पेनाल्टी नदिएको बताएका छन् ।

अब यो नतिजाबाट आफ्नो पक्षमा पार्न धेरै गाह्रो हुनेछ, तर रेफ्रीले बार्सिलोनालाई मद्दत नगरेको भने हामीलाई सहज हुने थियो । हामीले धेरै गल्ती गर्दै दुई आत्मघाती गोल दियौं, उनले भने, बार्सिलोना जस्तो टोलीसँग यस्तो गल्ती स्वीकार्य हुँदैन, तर रेफ्रीको नतिजा निष्पक्ष भएको भए स्कोर अर्कै हुने थियो ।

प्रशिक्षक फान्सेसकोले सेमेडोले जेकोलाई गरेको ट्याकल क्लियर पेनाल्टी थियो रहेको उल्लेख गर्दै उम्तितीले लोरेन्जो पेलेग्रिनीलाई गरेको फाउल पनि पेनाल्टी बक्स भित्रै भएको बताए । उनले दोस्रो लेगमा बार्सिलोनालाई कडा चुनौति दिने उल्लेख गर्दै भने, घरेलु समर्थक सामू हामीले बार्सिलोनालाई कडा टक्कर दिनेछौं ।