च्याम्पियन्स लिगको कीर्तिमानमा रोनाल्डोले मेस्सीलाई पछि पारे

युभेन्टसविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलको दोस्रो लेगेमा बुधबार इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले रियल म्याड्रिडको सेमिफाइनलमा स्थान पक्का गराएका थिए । समग्रमा ३-३ को बराबरीको अवस्थामा रियलले पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले टोलीलाई अघि बढाएका थिए ।
क्वार्टरफाइनलका दुवै लेगमा गरि युभेन्टसविरुद्ध ३ गोल गर्दै रोनाल्डोले मेस्सीलाई च्याम्पियन्स लिगको अर्को कीर्तिमानमा पछि पारेका छन् ।त्यो पेनाल्टी गोलसँगै युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा रोनाल्डोले १० औं गोल गरेका छन् ।

रोनाल्डो च्याम्पियन्स लिगमा कुनै एक प्रतिद्वन्दी क्लबविरुद्ध सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि त्यो कीर्तिमान रोनाल्डो र मेस्सीबीच बाढिएको थियो । युभेन्टसविरुद्ध पहिलो लेगमा २ गोल गर्दै रोनाल्डोले मेस्सीको कीर्तिमान बराबरी गरेका थिए। मेस्सीले च्याम्पियन्स लिगमा आर्सनलविरुद्ध ९ गोल गरेका छन् ।

यो सिजनमा रोनाल्डोले च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । युभेन्टसविरुद्ध दोस्रो लेगमा पनि गोल गरेपनि च्याम्पियन्स लिगका ११ खेलमा उनले लगातार गोल गरेका छन् । त्यो पनि आफैंमा अर्को कीर्तिमान हो ।