चोटग्रसित मेस्सीलाई पनि अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरे पछि पिएसजी असन्तुष्ट

अर्जेन्टिनाको राष्ट्रिय टोलीमा लियोनल मेस्सीलाई पनि समावेस गरे पछि उनको क्लब पेरिस सेन्ट जर्मेन सो निर्णयबाट असन्तुष्ट रहेको छ।  हालैका हप्ताहरूमा चोटपटकको समस्याबाट ग्रस्त रहेका पिएसजीका सुपरस्टारलाई अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले उरुग्वे र ब्राजिलविरुद्धको विश्वकप छनोटका खेलहरूको लागि अर्जेन्टिनाको टोलीमा समावेश गरेका छन्।

पिएसजीका खेलकुद निर्देशक लियोनार्डोले मेस्सीलाई अर्जेन्टिनाको टोलीमा समावेश गर्ने विषयमा आफ्नो धारणा स्पष्ट पारेका छन् ।

“हाम्रो लागि खेल्न फिट नभएको र रिकभरीमा रहेको खेलाडीलाई आफ्नो राष्ट्रिय टिममा सामेल हुन दिन हामी सहमत छैनौँ, “लियोनार्डोले ले पेरिसियनलाई भने।

“यसको कुनै अर्थ छैन र यस प्रकारको अवस्था फिफासँग छलफल गर्न आवश्यक छ।”

मेस्सीको हाल बायाँ घुँडामा समस्या रहेको छ र च्याम्पियन्स लिगमा पिएसजीकोआरबी लाइपजिग विरुद्धको खेल उनले गुमाएका थिए भने बोर्डो विरुद्धको लिग वान खेलमा पनि उनी मैदान बाहिर थिए।