चेल्सी लुकाकु भित्र्याउन नजिक

एजेन्सी, इङलिस क्लब चेल्सी इटालियन क्लब इन्टर मिलानका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु भित्र्याउन नजिक देखिएका छन्। रिपोर्टका अनुसार चेल्सीले लुकाकुलाई करिब ९५ मिलियन पाउन्डमा भित्र्याउन सक्ने सम्भावना प्रबल छ। 

यस ट्रान्सफर सिजन चेल्सीको मुख्य प्राथमिकता युवा स्टार खेलाडी अर्लिङ हालण्ड भित्र्याउनु रहेता पनि उनले यस ट्रान्सफर सिजन क्लब नछाड्ने देखिएपछि चेल्सीको प्राथमिकता लुकाकु हुन पुगेको देखिन्छ। लुकाकु चेल्सीका पुर्व खेलाडी पनि हुन्।
२८ वर्षका बेल्जियन फर्वार्ड लुकाकु २०११ देखि २०१४ सम्म चेल्सीमा नै अनुबन्ध थिए। चेल्सीको जर्सीमा उनले पर्याप्त खेल समय भने पाउन सकेनन्। चेल्सीका लागि उनले १५ खेल मात्र खेलेका थिए। २०१९ मा इन्टर मिलानमा अनुबन्ध भए देखि भने उनले क्लबका लागि ९५ खेल खेलेका छन् जस्मा उनले ६४ गोल पनि गर्न सफल भएका छन्।