चेल्सी र भ्यालेन्सियाको जित,आजाक्स युरोपा लिगमा झर्यो

चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति फ्रेन्च क्लब लिलीलाई पराजित गर्दै चेल्सीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

नकआउट चरण पुग्न चेल्सीलाई जितको विकल्प थिएन ।

फ्रान्क लाम्पार्ड नेतृत्वको चेल्सीका टमी अब्राहम र सेजर अजपिलिकुएटाले पहिलो हाफमै दुई गोल गर्दै लण्डन क्लबको सम्भावना बलियो बनाएका थिए ।

विलियमको क्रसलाई सदुपयोग गर्दै १९ औ मिनेटमा अब्राहमले क्लोज रेन्जबाट चेल्सीलाई अग्रता दिलाएका थिए ।

अजपिलिकुएटाले ३५ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाएका थिए । इमरसनको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए ।

खेलको ७८ औ मिनेटमा रेमीले लिलीका लागि एक गोल फर्काएका थिए ।

चेल्सी ११ अक सहित दोस्रो स्थानमा रहेर समूह चरण पार गर्यो । शीर्ष स्थानको भ्यालेन्सिया समेत ११ अंक सहित नकआउट चरण पुग्यो ।

त्यसै गरि आजाक्स १० अंक सहित तेस्रो स्थानमा रहेर समूह चरणबाटै बाहिरियो । लिलीले अन्तिम खेलमा एक अंक बटुल्यो ।

गत सिजन सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको आयाक्स यो सिजन समूह चरणबाटै आउट भएको छ ।

समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब भ्यालेन्सियासँग आफ्नै घरमा ०–१ ले पराजित भएपछि आयाक्स प्रतियोगिताबाटै आउट भएको हो ।