चेल्सीले लिगमा अंक कटौतीको सामना गर्न सक्ने

प्रिमियर लिगको अन्तिम खेल बाँकी हुँदा हाल चेल्सीको लागि खराब समाचार आएको छ। खबर अनुसार चेल्सीले लिगमा अंक कटौतीको सामना गर्न सक्ने छ। बुधवार लेस्टर सिटी विरुद्ध भएको प्रिमियर लिग खेलमा चेल्सीका खेलाडीहरू लेस्टर सिटीका खेलाडीहरू सँग केही विवाद गर्न पुगेका थिए र उक्त घटना धेरै तनावपूर्ण हुन पुगेको थियो।

चेल्सीले २-१ले जितेको उक्त खेलको अन्तिम समय तिर बेन चिलवेललाई लेस्टरका रिकार्डो परेराले फाउल गरे पछि दुई टिम बिच तनाव हुन पुगेको थियो। खेलाडीहरू र कोचिङ स्टाफ टचलाइनमा झगडा गर्न पुगे, दुवै क्लबलाई एफ ए द्वारा कारबाही हुने खबर हुँदा लेस्टर भन्दा चेल्सीमाथि कडा कारबाही हुने खबर छ।

द मिररका अनुसार, चेल्सी आफ्नो खेलाडीहरूलाई नियन्त्रण गर्न असफल भएको कारण चेल्सीले अंक कटौतीको सामना गर्न सक्ने छ। इङ्गल्यान्ड फुटबल सङ्घले गत ७ वर्षमा समान घटनामा ७ पटक अंक कटौतीको साथ कारबाही गरेको छ।

चेल्सीले दुई पटक सो किसिमको घटनाको लागि चेतावनी पाएको छ। चेल्सी हाल लिगमा ६७ अंकको साथ तेस्रो स्थानमा रहेको छ। चेल्सी यो सिजन च्याम्पियन्स लिगको फाइनल पुगे पनि अर्को सिजनको च्याम्पियन्स लिगको ठाउँ सुरक्षित राख्न लिगको शीर्ष ४ पर्न महत्त्वपूर्ण हुने छ भने अंक कटौतीले चेल्सीलाई ठुलो क्षति गर्न सक्ने छ।