चेल्सीले रियललाई बराबरीमा रोक्यो

एजेन्सी, च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब रियल र इंग्लिस क्लब चेल्सीले १-१ गोलको बराबरी खेलेका छन् ।

रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने चेल्सीले टोलीले बनाएको थियो ।

खेलको १४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए । उनले एन्टोनियो रुडिगरको पासलाई सदुपयोग गरे ।

तर, खेलको २९ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । इडर मिलिटाओको पासमा उनले गोल गरे ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेन र खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै दुबै टोलीको फाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ ।

अब दोस्रो लेगको खेल चेल्सीको मैदानमा हुनेछ । दोस्रो लेगको खेल आगामी मे ६ मा हुनेछ ।