चेल्सीले नयाँ प्रशिक्षकको रुपमा ल्याम्पार्डलाई घोषणा गर्ने

चेल्सीले पूर्व खेलाडी तथा लेजेन्ड फ्राङ्क ल्याम्पार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने तय भएको छ । बेलायतको सञ्चारमाध्यमका अनुसार लाम्पार्डसँगै चेल्सीले उनको एसिस्टेन्ट जोडी मोरिसलाई पनि अनुबन्ध गर्ने भएको छ । जुन घोषणा ४८ घण्टामा हुने खुलासा भएको छ ।

माउरिसियो सार्रीले क्लब छोडेपछि ल्याम्पार्ड चेल्सीको प्रशिक्षणमा फर्किने प्रमुख दाबेदार हुन् । खेल करियर सकेर प्रशिक्षणमा होमिएको पहिलो सिजनमै ल्याम्पार्डले डर्बी काउन्टीलाई च्याम्पियनसिपको प्लेअफसम्म पुर्याएका थिए । प्लेअफमा डर्बी एष्टन भिल्लासँग पराजित भएपछि प्रिमियर लिगमा बढुवा हुन असफल भएको थियो ।

फाइनान्सियल फेयर प्लेका कारण चेल्सीले यो सिजन कुनै पनि खेलाडी अनुबन्ध गर्न पाउँदैन । त्यसैले ल्याम्पार्डले युथ एकेडेमीबाट केही खेलाडीलाई मौका दिएर राम्रो टिम बनाउन सक्ने अपेक्षा गरिएको छ ।

डर्बीका लागि ल्याम्पार्डले ५७ खेलमा २४ गोल गरेका छन् । उनले डर्बीलाई कारवाओ कपको क्वार्टर फाइनलसम्म पनि पुर्याएका थिए । त्यस क्रममा डर्बीले म्यानचेस्टर युनाइटेडलाई पनि हराएको थियो । क्वार्टरफाइनलमा भने चेल्सीसँग पराजित भएको थियो ।