चेल्सीले गुमायो शीर्ष स्थानमा जाने सुनौलो मौका

एभर्टनले चेल्सीलाई इङलिस प्रेमिएर लिगमा हराएको छ ।

शनिबार राति एभर्टनले घरेलु मैदानमा चेल्सीलाई १–० ले हराएको हो ।

गुडसिन पार्कमा झण्डै २ हजार दर्शकलाई साक्षी राखेर एभर्टनले चेल्सीको १७ खेलको अपराजित यात्रालाई समाप्त गरेको हो ।

यस सिजन पहिलो पटक एभर्टनको घरेलु मैदानमा दर्शक देखिएका थिए ।

गिल्फी सिगुर्डसनले २२ औं मिनेटमा गरेको पेनाल्टी गोल चेल्सीलाई स्तब्ध बनाउन पर्याप्त रह्यो ।

गोलकिपर एडुआर्ड मेन्डीले फरवार्ड डोमिनी काल्भर्ट लेविनलाई डिबक्सभित्र लडाँएपछि एभर्टनले पेनाल्टीको अवसर पाएको थियो ।

एभर्टनका प्रशिक्षक कार्लोस एन्सेलोटीले २ हजार दर्शकले खेलको नतिजालाई बदलेको प्रतिक्रिया दिए ।

चेल्सीको यस सिजनको यो दोस्रो हार हो । हारसंगै चेल्सी तालिकाको शीर्ष स्थानमा पुग्न असफल रह्यो । चेल्सी २२ अंक सहित तालिकाको तेस्रो स्थानमा रह्यो । एभर्टन २० अंक सहित सातौं स्थानमा रह्यो ।