चेल्सीको उत्कृष्ट पुनरागमन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गरे ।

सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । नवौं मिनेटमा डेभिडले गोल गर्दै सेफिल्डलाई १-० को अग्रता दिलाएका थिए ।

तर, २३ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ३४ औं मिनेटमा चिलवेलले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीको अग्रता ३-१ को बनाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा वेर्नेरले गोल गर्दै चेल्सीलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ ।

सेफिल्डको यो सातौं हार हो । १ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ ।