चेल्सीका समर्थकलाई प्रतिबन्ध, १ जनालाई आजीवन र ५ जनालाई दुई वर्ष

प्रिमियर लिगमा गएकाे वर्ष भएको खेलमा रंगभेदी शब्द प्रयोग गरेका एक जना चेल्सी समर्थकलाई आजीवन प्रतिबन्ध लागेको छ।

चेल्सीको मैदान स्ट्याम्फर्ड ब्रिजमा घरेलु समर्थकले म्यान्चेष्टर सिटीका रहिम स्टर्लिङलाई रंगको आधारमा अपशब्द प्रयोग गरेको प्रमाणित भएपछि प्रतिबन्ध लगाइएको हो। यो म्याच अघिल्लो वर्षको डिसेम्बर ८ मा भएको थियो।

एक जनालाई आजीवन प्रतिबन्ध लाग्दा अन्य पाँच जनालाई पनि प्रतिबन्ध लगाइएको छ । प्रहरीले त्यस घटनालाई लिएर अनुसन्धान गरेको थियो । अपराधसम्बन्धी कारबाही गर्नका लागि प्रमाण नपुगेकाले दुई वर्षसम्मको लागि प्रतिबन्धमात्र लगाइएको हो।

यस घटनामा चेल्सीले पछि छुट्टै अनुसन्धान गरेको थियो। तर क्लबले निर्णय लिन ढिलो भएको जनाउँदै प्रहरीको निर्णय मान्य हुने जनाएको छ। चेल्सीले ६ जना समर्थकले मर्यादा बिर्सेको जनाएको छ।