चीनमा मेसुट ओजिल र आर्सनललाई लिएर विवाद: आर्सनलको खेल टेलिकास्टमा रोक

चीनको सरकारी प्रसारणकर्ता सीसीटीभीले आइतवार भएको आर्सनल र म्यान्चेस्टर सिटीबीच भएको खेललाई प्रसारण तालिकाबाट हटाइदिएको थियो ।

आर्सनलका मिडफील्डरले चीनमा उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए, लगत्तै आर्सनल क्लबले उनको टिप्पणीबाट आफूलाई अलग्याएको थियो

चीनको ग्लोबल टाइम्स पत्रिकाले जर्मन खेलाडी ओजिलको टिप्पणीलाई ‘झूटो’ भन्दै त्यसले खेल अधिकारीहरूलाई ‘निराश’ बनाएको जनाएको छ।

चीनको फुटबल सङ्घले ओजिलका टिप्पणी ‘अस्वीकार्य’ भन्दै त्यसले चिनियाँ फुटबल प्रेमीहरूको ‘चित्त दुखेको’ बताएको छ।

सीसीटीभीले आइतवारको आर्सनल र लीग च्याम्पियन म्यान्चेस्टर सिटीको खेलको साटो टोटनम र वुल्भ्सको खेल देखाउने तालिका बनाएको थियो।

आफू स्वयम् मुस्लिम समुदायका ओजिलले सामाजिक सञ्जालको पोस्टमा उइगरहरूलाई “दमनविरुद्धका लडाकुहरू” भन्दै चीनको तथा त्यस विषयमा मौन बसेका मुस्लिमहरूको आलोचना गरेका थिए।

चीनले बारम्बार उइगर मुस्लिमहरूलाई दुर्व्यवहार नगरिएको भन्दै आएको छ।

अधिकारवादी समूहहरूका अनुसार अधिकांश मुस्लिम उइगर समुदायका गरी १० लाख मानिसहरूलाई चीनमा कुनै सुनुवाइ नगरीकनै उच्च सुरक्षा दिइएका बन्दी शिविरमा राखिएको छ।

चीनका अनुसार तिनलाई हिंसात्मक धार्मिक कट्टरताविरुद्ध लड्न ‘व्यावसायिक प्रशिक्षण केन्द्र’मा राखिएको छ।

अक्टोबर महिनामा अमेरिकाको राष्ट्रिय बास्केटबल सङ्घ (एनबीए)का एक कार्यकारी अधिकृतले गरेको टिप्पणीका कारण चीनसँग उसको सम्बन्ध बिग्रिएपछि उसले निकै आर्थिक घाटा बेहोर्नुपरेको थियो।

हङ्‌कङका प्रजातन्त्रवादी प्रदर्शनकारीहरूको समर्थनमा ह्यूस्टन रकेट क्लबका व्यवस्थापक ड्यारिल मोरेले ट्वीट गरेका थिए।

परिणामस्वरूप चिनियाँ कम्पनीहरूले प्रायोजन एवम् टेलिकास्ट सम्झौता स्थगित गरिदिएका थिए।