चार वर्षपछि ‘ए’ डिभिजन लिग हुँदै

चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले रु. ५० लाख पाउने भएको छ । एन्फाद्वारा आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु. ५० लाख दिने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । प्रतियोगितामा उपविजेता हुने टोलीले रु. ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले रु. २५ लाख पाउनेछन् । चौथोले रु. १५ लाख, पाँचांैले रु. ७ लाख र छैटौंले रु. ५ लाख पाउनेछन् ।

त्यस्तै, हरेक खेल जितेवापत एन्फाले विजेता क्लबलाई रु. ५० हजार दिनेछ भने म्यान अफ द म्याचले रु. १० हजार प्राप्त गर्नेछन् । लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिडफिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक–एक थान मोटरसाइकल पनि पाउनेछन् । यस्तै, प्रतियोगितामा फेयर प्ले अवार्ड जित्ने टोलीले रु. एक लाख पनि पाउने छन् । तीन विभागीयसहित १४ टोली सहभागी हुने प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुससम्म चल्नेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, संकटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् । हरेक क्लबले ४ विदेशीसहित १८ देखि ३५ जना खेलाडी अनुबन्ध गर्न सक्ने एन्फाले जनाएको छ ।

लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउनेछ । यसपटकको लिगमा म्याच फिक्सिङ रोक्न एन्फाले नयाँ कमिटीसमेत गठन गरेको छ भने सिसी क्यामेरा समेत जडान गरिने छ । लिग तयारीको लागि एन्फाले हरेक क्लबलाई रु. २० लाख उपलब्ध गराउने छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र एपिएफको हल्चोकस्थित मैदानमा हुने प्रतियोगितामा रु. पाँच करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ ।