फ्रेन्च लिग वानमा मार्से र पेरिस सेन्ट जर्मेनले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
मार्सेमा आइतबार राति भएको खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । २०औं मिनेटमा एर्काडिअस मिलिकले गोल गरेपनि उनको गोलले पनि भिएआरबाट मान्यता पाएन ।
५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर त्यसको फाइदा घरेलु टोली मार्सेले उठाउन सकेन ।
यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा रहेको छ ।