घाइते रामोसले स्पेनको राष्ट्रिय टोली छाडे

स्पेन एवं रियल म्याड्रिडका डिफेन्डर तथा कप्तान सर्जियो रामोसले घाइते भएपछि स्पेनिस राष्ट्रिय टोली छाडेर म्याड्रिड फर्केका छन् । उनले बिहीबार क्रोएसियाविरुद्ध ३-२ को मैत्रीपूर्ण खेल हारमा गोल गरेका थिए ।

रामोसले स्पेन २-१ ले पछाडी परेको स्थितिमा पेनाल्टीबाट गोल गर्दै बराबरीमा ल्याएका थिए । तर क्रोएसियाले फेरी गोल गरेपछि स्पेन ३-२ ले पराजित भएको थियो । त्यसै खेलमा रामोसले तिघ्रामा चोट बोकेपछि विश्राम लिने निर्णय गरेका हुन् । स्पेनिस राष्ट्रिय टोलीले सूचना जारी गर्दै रामोस आइतबार हुने खेलका लागि उपलब्ध नहुने र टोली छाडेको जनाएको छ ।

स्पेनले आइतबार लास पाल्मासमा बोस्निया हर्जगोभिनासँग मैत्रीपूर्ण खेल खेल्दैछ । स्पेनले यूईएफए नेसन्स लिगमा क्रोएसियासँग पराजित भएसँगै अन्तिम चारमा पर्न अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ । अब आइतबार वेम्बलीमा हुने खेलमा इंग्ल्यान्ड र क्रोएसियाले बराबरी खेले स्पेन अगाडी बढ्नेछ । त्यसो नहुँदा स्पेनले अन्तिम चारमा स्थान बनाउने छैन ।

रामोस घाइते भएसँगै उनी थप परिक्षणका लागि म्याड्रिड लागेका छन् । ला लिगा अन्तर्गत नोभेम्बर २४ मा हुने खेलका लागि उनको स्थिति अझै शंकामा छ । रियलले अर्को साता एइबारको सामना गर्दैछ । प्रशिक्षक सान्टियागो सोलारीको नियुक्तिसँगै लयमा फर्किएको रियलका लागि रामोसको अनुपस्थिति ठूलो समस्या हुनेछ । यसअघि नै रियलमा घाइते खेलाडीको सुची लामो छ ।