घाइते मेस्सी प्रशिक्षणमा फर्किए

घाइते भएका बार्सिलोनाका कप्तान लिओनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । आजबाट मेस्सी आंशिक प्रशिक्षणमा फर्केका हुन् । क्लब बार्सिलोनाले आफ्नो अफिसियल ट्वीटर अकाउन्टबाट मेस्सीको तस्बिर पोस्ट गर्दै यसको जानकारी दिएको हो । उक्त तस्बिरमा मेस्सीले हाँसीखुसी र उत्साहसाथ प्रशिक्षण गरिरहेको देख्न सकिन्छ ।

मेस्सी १० दिनअघि अक्टोबर २१ तारिखमा आफ्नो घरमा भएको सेभिल्लाविरुद्धको खेलक्रममा घाइते भएका थिए । बार्सिलोनलो ४–२ ले जितेको सो खेलको २९औं मिनेटमा मेस्सी बल नियन्त्रणमा लिनेक्रममा लडेका थिए । उनको दाहिने हातको हड्डी भाँचिएपछि मैदान छाडेका थिए ।

त्यसपछि उपचारमा रहेका मेस्सी दायाँ हादमा ‘आर्म स्लिङ’ लगाएर बार्सिलोनाको खेल हेर्न रंगशालामा गइरहेका थिए । त्यसबेला बार्सिलानाले मेस्सी कम्तीमा ३ साताबाहिर रहने बताएको थिए ।

बार्सिलोनाले मेस्सी कहिलेबाट मैदान फर्किन्छन् भन्ने पछिल्लोपटक उल्लेख गरेको छैन । तर, उनी ला लिगाको आगामी खेलबाट टोलीमा फर्किने सम्भावना रहेको छ ।