घरेलु मैदानमा बार्सिलोना रियलसंग पराजित

ला लिगामा एल क्लासिको भिडन्तमा रियल मड्रिडले जित निकालेको छ ।

क्याम्प नाउमा शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन फेड्रिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा फेड्रिकोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, नवौं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

यस गोलसँगै फाती एल क्लासिकोमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बनेका छन् । फातीले १७ वर्षको उमेरमा गोल गरेका हुन् ।

खेलको ६३ औं मिनेटमा कप्तान रामोसले पेनाल्टी गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

बार्सिलोनाका लेग्लेटले पेनाल्टी क्षेत्रमा रामोसलाई फउल गरेपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । जसमा रामोस चुकेनन् ।

त्यसपछि खेलको ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई ३-१ को सहज जित दिलाए ।