घरेलु मैदानमा चेल्सी पराजित

एजेन्सी, युरोपिय च्याम्पियन्स लिगको फाइनलको तयारीमा रहेको चेल्सी प्रिमियर लिमा आर्सनलसँग पराजित भएको छ । बुधबार राती भएको खेलमा चेल्सी आर्सनलसँग एक शुन्यले पराजित भयो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई हारको स्वाद चखाउनका लागि आर्सनलका लागि स्मिथ रोवीको एकमात्र गोल निर्णायक बन्यो ।

आर्सनल विरुद्धको खेलमा सात खेलाडीलाई परिवर्तन गरेको चेल्सीले अन्तिममा हारको स्वाद चाख्नुपर्यो । खेलको १६ औं मिनेटमा अबामयाङको पासमा स्मिथले गरेको गोल नै अन्तिममा निर्णायक बन्यो ।

शनिबार म्यानचेस्टर सिटीविरुद्ध उत्कृष्ट जित निकालेको चेल्सीले घरेलु मैदानमा भने राम्रो गर्न सकेन । शनिबार हुने एफ ए कपका लागि मुख्य खेलाडीलाई आराम दिएका चेल्सीका प्रशिक्षक थोमस टुसेलले यो हारको पुर्ण जिम्मेवार आफु रहेको बताएका छन । यो हारपछि चेल्सीलाई शिर्ष चारको स्थान पक्का गर्न अझै कुर्नुपर्ने भएको छ ।

खेलको १६ औं मिनेटमा नै जोर्गिन्होको गल्तिका कारण चेल्सीले गोल खान पुगेको थियो । त्यसपछि पनि खेलमा फर्किनका लागि चेल्सीले दबाव दिएपनि सफल भएन । खेलको अन्तिममा चेल्सीले दुई वटा उत्कृष्ट अवसर पाउँदा गोल गर्न सकेन । जसका कारण उसले यो सिजनको लिगमा आठौं हार ब्यहोर्यो ।

अब चेल्सीलाई शिर्ष चारमा स्थान बनाउँनका लागि लिभरपुलले दबाव दिने देखिएको छ । यदि लिभरपुलले आगामी दुई खेल जितेको खण्डमा चेल्सी भन्दा एक अंकले पछाडीमात्र हुनेछ । यस्तो अवस्थामा चेल्सीले शिर्ष चारको स्थान पक्का गर्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । लिभरपुलले अझै लिगमा चार खेल खेल्न बाँकी छ ।

चेल्सीको ३६ खेलमा ६४ अंक भएको छ । छैटौं स्थानको लिभरपुलको ३४ खेलमा ५७ अंक छ ।