‘ग्लोब सकर अवार्ड’ को टप–३ मा रोनाल्डो र एमबाप्पे पर्दा मेस्सी परेनन्

हरेक वर्ष दिइने ‘ग्लोब सकर अवार्ड’को अन्तिम मनोनयन सार्वजनिक भएको छ । यसपटक यो अवार्डका लागि टप–३ मा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो परेका छन् । उनीसँगै एथ्लेटिको मड्रिड तथा फ्रान्सका एन्टोनी ग्रीजम्यान र पिएसजी तथा फ्रान्सकै केलियन एमबाप्पे पनि परेका छन् ।

यो अवार्ड युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसिएसन अफ् प्लेयर्स एजेन्सले हरेक वर्ष दिँदै आएको छ ।
यो अवार्ड गत वर्ष रियल मड्रिडमा छँदा रोनाल्डोले जितेका थिए । उनले सन् २०११, २०१४ र २०१६ मा पनि यो अवार्ड जितेका थिए ।

‘ग्लोब सकर अवार्ड’ मा आयोजकले वर्ष खेलाडीसहित विभिन्न १३ विधामा अवार्ड प्रदान गर्छ । त्यसैगरी, यस अवार्डका लागि वर्षको उत्कृष्ट क्लब पनि घोषणा हुन्छ ।