ग्लोबल टी-२० को पहिलो खेलमै सन्दीप लामिछानेको टिम पराजित

क्यानाडामा बिहीबारदेखि सुरु भएको ग्लोबल टी-२० क्रिकेट लिगमा टोरन्टो नेसनल्स उद्घाटन खेलमै पराजित भएको छ।

उद्घाटन खेलमा टोरन्टोलाई डिफेन्डिङ च्याम्पियन भ्यानकुभर नाइट्सले ८ विकेटले पराजित गरेको हो।
युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको गुमाउदै १५९ रन बनाएको थियो।

रोड्रिगो थोमस र हेन्रेच क्लासेनले समान ४१-४१ रन बनाए । थोमसले ३१ बलमा तथा क्लासेनले २० बलमा उक्त रन बनाए। तेस्तै पोलार्डले १३ बलमा नटआउट ३० रन बनाए। युवराजले भने २७ बलमा १४ रन बनाए।

जवाफमा १६० रनको लक्ष्य भ्यानकुभरले १७.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो। भान देर डुसेनले ४३ बलमा नटआउट ६५ रन तथा चाडविक वाल्टोनले ३५ बलमा नटआउट ५९ रन बनाए। कप्तान क्रिस गेलले १० बलमा १२ रन बनाए।