ग्रीजम्यान चम्किदा रियल बेटिस विरुद्ध बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिस विरुद्ध ५-२ को जित निकालेको छ।

खेलमा पहिलो गोल भने बेटिसले गरेका थिए। १५औं मिनेटमै उनका लागि नविल फकिरले टिमकालाई १-० को अग्रता दिलाएका थिए। तर, खेलको ४१औं मिनेटमा बार्सिलोनाका लागि ग्रीजम्यानले गोल गर्दै खेल १–१ मा पुराए।

दोस्रो हाफको ५०औं मिनेटमै ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै २-१को अग्रता दिलाए । बार्सिलोनाका लागि फेरि ५६औं मिनेटमा कार्लेस पेरेजले टोलीका लागि तेस्रो गोल गरे। त्यसतै ६०आऔं मिनेटमै जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोना खेलमा ४-१ ले अघि रह्यो ।

खेलको ७७औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई ५-१ मा पुराए। बेटिसका लोरेन्जोले ७९औं मिनेटमा गोल गर्दै गोलअन्तर ५-२ छोट्याए ।

तर त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल हुन सकेन् र बार्सिलोनाले ५-२ को सहज जित निकाल्यो।

यो जितले बार्सिलोनाले २ खेलबाट १ खेल जितेर ३ अंक बनाएको छ।