ग्रीजम्यान चम्कदा बार्सिलोना सेमिफाइनलमा

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ग्रानडालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता ग्रानडाले बनाएको थियो । खेलको ३३ औं मिनेटमा केनेडीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ४७ औं मिनेटमा रोबर्टो सोल्डाडोले गोल गर्दा ग्रानडा २-० ले अघि रह्यो । तर, बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ८८ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा जोर्डी अल्बाले गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०० औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

खेलको १०३ औं मिनेटमा घरेलु टोलीका फेडे भीकोले गोल गर्दा खेल ३-३ को स्थितिमा पुगेको थियो । तर, खेलको १०८ औं मिनेटमा फ्रान्की डी जोङले गोल गर्दै बार्सिलोनालाई ४-३ को अग्रता दिलाए ।

त्यसपछि खेलको ११३ औं मिनेटमा अल्बाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-३ को जित दिलाए ।