गोलकिपर किरण चेम्जोङ जापान जाँदै

किरण चेम्जोङ बुधबार जापान प्रस्थान गर्ने भएका छन् । जापानको तेस्रो श्रेणी क्लब फुजिएदा माएफुसीमा प्रशिक्षणका साथै एनपीओ रियलको हिरो टु हिरो प्रोजेक्टको कार्यक्रममा सरिक हुन किरण त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

किरणले फुजिएदामा रहेर झन्डै ३ साता प्रशिक्षण गर्नेछन् । उनी नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका फरवार्ड सन्तोष साहुखलको समन्वयमा प्रशिक्षणमा सहभागी हुन लागेका हुन् । किरणको प्रशिक्षण राम्रो भएको खण्डमा अर्को सिजनका लागि उनलाई त्यहीं रहेर खेल्ने मौकाको पनि सम्भावना रहेको छ । सन्तोषले जापानी एनजीओ एनपीओ रियल वर्ल्डसँग सहकार्य गर्दै किरणलाई प्रशिक्षणको व्यवस्था मिलाएका हुन् ।

किरणले जापानमा रहेको समयमा गत महिना मात्र नेपालमा सुरु भएको ‘हिरो टु हिरो’ प्रोजेक्टका कार्यक्रममा पनि सहभागिता जनाउने छन् । जापानी संस्था एनपीओ रियल वर्ल्डले नेपाली फुटबलको विकासमा निम्नस्तरबाट कदम चाल्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरेको हो । एनपीओकी रियल वर्ल्डकी अध्यक्ष आया मियोशीले किरणले जापान बसाइका क्रममा विभिन्न कार्यक्रममा सहभागी भएर नेपाली फुटबलबारे जापानमा रहेका विभिन्न संस्थालाई जानकारी दिनेछन् ।

किरणले जापानी क्लबमा नियमित प्रशिक्षण गर्न उत्साहित रहेको बताए । ‘ जापानको फुटबल निकै माथिल्लो स्तरको छ । मैले त्यहाँ रहेर धेरै कुरा सिक्ने अपेक्षा गरेको छु । जापानी फुटबल एसियाकै उत्कृष्टमध्यमा पर्छ र हामीले अब विश्वकपमा एसियाका ठूला राष्ट्रसँग खेल्नुपर्छ । त्यहाँको प्रशिक्षणले पनि मलाई सहयोग पुग्नेछ,’ किरणले भने । किरण अगष्टको अन्त्यतिर नेपाल फर्कनेछन् ।