गुवार्डिओलाका आँशु नक्कली भएको एग्वेरोका पिताको आरोप

एजेन्सी, पुर्व म्यान्चेस्टर सिटिका खेलाडी सर्जियो एग्वेरोका पिता लिओनेल डेल कास्टीलोले सिटिका प्रशिक्षक पेप गुवार्डिओलाले एग्विरो प्रती भावुक भई दिएको अन्तर्वार्तामा गुवार्डिओलाका आँशु नक्कली भएको प्रतिक्रिया दिएका छन्। लिओनेल डेल कास्टीलो एग्वेरोका एजेन्ट पनि हुन्।

म्यान्चेस्टर सिटिले २०२०/२१ प्रेमियर लिग सिजनको अन्तिम खेल एभरटन सँग खेलेको थियो। उक्त खेल सिटिले ५-० जित्नुका साथै सो खेलमा एग्वेरोले २ गोल पनि गरेका थिए। सो खेल सिटिका लागि एग्वेरोको अन्तिम प्रेमियर लिग खेल थियो। उक्त खेल पछि गुवार्डिओला भावुक भई सिटिले एग्वेरोलाई कहिल्यै पनि प्रतिस्थापन गर्न नसक्ने भनी अन्तर्वार्ता दिएका थिए। एग्वेरो हाल फ्री ट्रान्सफरमा सिटिबाट बार्सिलोनामा अनुबन्धित भएका छन्।

एग्वेरोका पिता कास्टीलोले भने गुवार्डिओलाका आँशु नक्कली भएको र उनको विचारमा गुवार्डिओलाले एग्वेरोलाई कहिल्यै राख्न नचाहेको भनी अन्तर्वार्ता दिएका छन्। यसका साथसाथै एग्वेरोले बार्सिलोना जाने निर्णय लिनु अघि अर्का इङलिस क्लब चेल्सी र आर्सनलले पनि उनलाई भित्र्याउन चाहेको कुराको पनि उनले खुलासा गरेका छन्।
३३ वर्षका अर्जेन्टिनियन खेलाडी एग्वेरोले सिटिका लागि प्रेमियर लिगमा १८४ गोल गरि प्रेमियर लिगमा एउटै क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनी नयाँ कीर्तिमान राख्न सफल भएका थिए। उनी सन् २०११ मा लालिगाको क्लब एट्लेटिको म्याड्रिडबाट ३५ मिलियन पाउन्डमा सिटिमा अनुबन्धित भएका थिए।