खेल सकिन केही मिनेट बाकी हुँदा गोल गर्दै बार्सिलोना हारबाट जोगियो

शनिबार भएको खेलमा बार्सिलोना घरेलु मैदानमा एथलेटिक बिल्बाओविरुद्ध हारबाट जोगिएको छ । खेल सकिन ६ मिनेट अगाडी मुनिर एल हद्ददीले गोल गरेपछि बार्सिलोनाले बराबरी खेलेको हो ।

पहिलो हाफको ४ मिनेट समय बाँकी रहँदा बिल्बाओले खेलमा अग्रता लिएको थियो । मार्केल सुसाएटाको क्रसमा ओस्कार डे मार्कोसले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले पाएको अवसर सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेको थियो ।

प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कप्तान लिओनेल मेसीलाई बेन्चमा राखेर ओस्मान डेम्बेले, लुइस सुआरेज र फिलिपे कोउटिन्होलाई आक्रमणको पूर्ण जिम्मेवारी सुम्पिएका थिए ।
पहिलो हाफमा बिल्बाओका लागि इनाकी विलियम्सले पनि पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनले ६ यार्ड बक्सभित्र पाएको अवसरमा उचित निर्णय लिन नसक्दा बार्सिलोना खेलमा कायम रहेको थियो । त्यसपछि बार्सिलोनाले पनि अग्रता लिने अवसर गुमायो । लुइस सुआरेजले नेल्सन सेमेडोको पासमा गरेको प्रहारलाई उनाइ सिमोनले विफल पारेका थिए ।

खेलमा पछाडी परेपछि मेसी ५५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनले आर्टुरो भिडालको स्थान लिंदै टोलीलाई थप आक्रामक बनाएका थिए । ८० औं मिनेटमा ओस्मान डेम्बेलेको ठाउँमा मैदान प्रवेश गरेका मुनिरले ४ मिनेटपछि नै बराबरी गोल गरेका थिए । उनलाई कप्तान मेसीले नै पास मिलाएका थिए । सुरुआती रोजाईका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्दा बार्सिलोनाका लागि वैकल्पिक खेलाडीले खेलमा राम्रो छाप बसाउँदै हार टारेका थिए ।

मेसीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेपछि निकै राम्रो पास निकालेका थिए । तर जोर्डी अल्बा, सुआरेजलगायत खेलाडीले मौकाको फाइदा उठाउन सकेनन् । मेसीले मैदान प्रवेश गरेको छोटो समयमै गोल गर्ने अवसर बनाएका थिए । कोउटिन्होको प्रहार पोस्टमा लागेर फर्केको थियो भने सुआरेजले सहज मौकामा बललाई पोस्टतर्फ पठाउन सकेनन् ।