खेलाडीलाई पुरस्कारले मात्रै पुग्दैन : सिंह

१३ औं सागमा पदक विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्मान गरेका छन्। खेलाडीलाई नगद पुरस्कारले मात्रै नपुग्ने भन्दै सरकारले रोजगारीको व्यवस्था गरिदिनु पर्ने उनले बताए।

पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सरकारले नगद पुरस्कारका साथै शहर परिक्रमा गराएर सम्मान गरेकोमा उनले खुसी व्यक्त गरे। पदक विजेता कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई शनिबार आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारले खेलाडीको मनोबल उकास्ने काम गरेको भन्दै खुसी व्यक्त गरेका हुन्।

उनले खेलाडीलाई नगद पुरस्कारका अतिरिक्त रोजगारीको सुनिश्चितता गर्न सकेमात्र खेल क्षेत्रबाट अपेक्षा अनुरुपको नतिजा आउने भन्दै त्यसतर्फ सोच्न सरकारलाई सुझाव दिए। विश्वमा खेलाडीलाई खेल क्षेत्रमा प्रोत्साहन गर्नका लागि रोजगारीको ब्यवस्था गर्ने गरेको उदाहरण छ, अब हामीले पनि यतातर्फ सोच्नु पर्छ, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका सिंहले भने।

कराँते महासंघ ललितपुरले आयोजना गरेको कार्यक्रममा १३ औं सागमा पदक जितेका कराँते खेलाडी तथा प्रशिक्षकहरुलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

@Annapurna Post