खेलाडीको लगानीमा स्पोर्ट्‌स क्यासल

फुटबल खेलाडी ईश्वर गुरुङ (चन्द्र) सहितको युवा टोलीले पोखरामा खेलकुद कम्प्लेक्स स्पोर्ट्स क्यासल प्रालि सञ्चालनमा ल्याएको छ । खेलकुद पृष्ठभूमिका सात युवाको ६ करोड रुपैयाँ लगानीमा पोखरा–४ गणेश टोलमा शनिबारदेखि स्पोर्ट्‌स क्यासल सुरु भएको हो ।

फुटसल र जिमखानासहितको कम्प्लेक्सको उद्घाटन गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले गरे । प्रालिका अध्यक्ष ईश्वर गुरुङ, एनआरटी, मनाङ मर्स्याङदी र मछिन्द्र क्लबबाट खेलिसकेका छन् । २० वर्षीय युवा अनमोल पालिखे अर्का लगानीकर्ता हुन् । उनी प्रालिका निर्देशक समेत हुन् । नेपाल पुलिस क्लबका पूर्व गोलरक्षक विशाल श्रेष्ठको समेत लगानी छ । अर्की लगानीकर्ता विजया गुरुङ एन्फा कास्की कोषाध्यक्ष हुन् । राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङ, दिलीप कार्की र पवन गुरुङले क्यासलमा लगानी गरेका छन् ।

क्यासल साढे ६ रोपनी जमिनमा फैलिएको छ । फुटसल ग्राउन्ड पोखराकै ठूलो भएको प्रालिको दाबी छ । ४० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको फुटसल ग्राउन्ड अन्तर्राष्ट्रिय मापदण्डको भएको अध्यक्ष गुरुङले बताए । जिम हलसमेत पोखराकै ठूलो रहेको उनले सुनाए । ‘एकैपल्ट एक सयदेखि डेढ सयसम्मले जिम गर्न मिल्छ,’ उनले भने, ‘यो प्रदेशकै ठूलो जिमखाना पनि हो ।’ खेलकुद क्षेत्रमा भएको अनुभव व्यवसायमा प्रयोग गर्ने उद्देश्यले स्पोर्ट्स क्यासलमा लगानी गरेको उनले उल्लेख गरे । उनका अनुसार जिमखानामा डीएचजेड कम्पनीका अत्याधुनिक सामग्री छन् । मिस्टर पोखरा नरजंग गुरुङ, युवराज गुरुङ र ओमिसा घिसिङ व्यायाम प्रशिक्षक छन् ।

प्रालिका निर्देशक पालिखेले व्यायामशालामा हरेक उमेर समूहले जिम गर्न मिल्ने बताए । क्यासलभित्रै साउना स्टिम, स्पा समेतको सुविधा छ । निकट भविष्यमै स्विमिङ पुल थप्ने योजना रहेको पालिखेले सुनाए । पर्याप्त पार्किङ सुविधा रहेको क्यासलमा हाइजेनिक चमेना गृहसमेत छ ।

कार्यवाहक मुख्यमन्त्री गुरुङले सहरवासीलाई स्वस्थ बनाउन स्पोर्ट्‌स कम्प्लेक्सको अवधारणामा जानुपर्ने बताए । ‘समृद्ध मुलुक बनाउन स्वस्थ नागरिक आवश्यक छ,’ उनले भने, ‘स्वस्थ नागरिक उत्पादन गर्न निजी क्षेत्रको लगानीको खाँचो छ ।’ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले १३ औं सागअन्तर्गत पोखरामा हुने भनिएका खेलका पूर्वाधार समयमै सक्न कुनै समस्या नरहेको बताए ।

उद्घाटनका अवसरमा एसियाडमा पदक दिलाउन सफल पाराग्लाइडिङका प्रशिक्षक योगेश भट्टराईलाई क्यासलले सम्मान गरेको थियो । फुटबलका पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङ, विश्व शारिरीक सुगठन च्याम्पियन महेश महर्जनले सक्रिय खेल जीवनपछि खेलसँगै सम्बन्धित व्यवसाय रोज्न उपयुक्त हुने धारणा राखे ।

@Kantipur