खेलकुद विकास समितिमा एक महिनादेखि ताला

जिल्ला खेलकुद विकास समितिका पदाधिकारीबीच असमझदारीका कारण कार्यालयमा लागेको ताला एक महिना पुग्दासमेत खुलेको छैन् । समितिका पदाधिकारीले जेठ ७ गते कार्यालय प्रमुख दिनेश भुजेलको कार्यकक्षमा गरेको तालाबन्दी नखुल्दा खेलकुद गतिविधि प्रभावित बनेको छ ।

ताला खोल्ने प्रयास दुवै पक्षको अडानले गर्दा असफल हुँदै आएको छ । तालाबन्दी कायम रहेपछि पूर्वाधार निर्माणका लागि आएको बजेट फ्रिज हुने अवस्थामा पुगेको छ । कर्मचारीले समेत हाजिर गर्न र तलब बुझ्न पाएका छैनन् ।

अध्यक्ष वा कोषाध्यक्षमध्ये कस्को नाममा खाता सञ्चालन गर्ने विषयमा समितिमा विवाद भएपछि उपाध्यक्ष धिरेन्द्र बर्मा धिरुको नेतृत्वमा कोषाध्यक्ष राजेश चौधरीसहित सदस्यहरुले कार्यालय प्रमुख भुजेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । अध्यक्ष अमर खवास र कार्यालय प्रमुख भुजेलबाहेक अन्य सबै पदाधिकारी, सदस्यहरु कोषाध्यक्ष चौधरीको नाममा खाता खोल्नु पर्ने पक्षमा छन् ।
अध्यक्ष खवासले आफ्नो नाममा खाता सञ्चालन नभए आर्थिक कारोवारको जिम्मेवारी लिन नसक्ने र कार्यादेश दिन नसक्ने बताउदै आएका छन् । समितिमा सचिवसमेत रहने कार्यालय प्रमुख भुजेलले अध्यक्षको कार्यादेशबिना आर्थिक कारोवार गर्न नसकिने भन्दै कोषाध्यक्षको नाममा खाता खोल्न असमर्थता जनाउँदै आएका छन् । खेलकुद नियमावलीमा कार्यालय प्रमुख र अध्यक्ष वा कोषाध्यक्षको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रावधान छ ।

तालाबन्दीका कारण भौतिक पूर्वाधार कार्यक्रम अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित मदन भण्डारी खेलग्रामका लागि आएको २५ लाख रकम र सप्तकोशी नगरपालिकास्थित भगनी मलेठमा कभर्ड हल निर्माणका लागि आएको १० लाख रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको कर्मचारीहरु बताउछन् ।

@Annapurna Post