खेलकुद क्षेत्रले अपेक्षाकृत महत्व पाउन नसकेको विभागीय मन्त्री विश्वकर्माको गुनासो

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले विकास र समृद्धिका मेरुदण्डका रुपमा रहेरको युवा जनशक्तिलाई राष्ट्र निर्माणमा परिचालन नगरेसम्म विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हाँसिल गर्न नसकिने बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले युवाहरुलाई श्रम, सीप र उत्पादनसँग जोडेर दक्ष, सक्षम, उद्यमी, व्यवसाय, स्वरोजगार र आत्मनिर्भर नबनाएसम्म विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हाँसिल गर्न नसकिने बताउनुभएको हो ।

खेलकुदको विस्तार र समृद्धि हाँसिल नभएसम्म कल्पना गरिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ हुननसक्ने उहाँको भनाइ छ ।

उक्त राष्ट्रिय अभिभारा पूरा गर्नका लागि वर्तमान सरकार गठन भएदेखिनै युवा तथा खेलकुद मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा–पत्र, नेपालको संविधान, कानून, आवधिक योजना तथा सरकारको नीति तथा कार्याक्रमलाई आधार मानेर युवा र खेल क्षेत्रमा भएका विद्यामान समस्या, चुनौतीहरु हेरेर नै बजेटहरु प्रस्तुत गर्दै आइरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रोत साधन, बजेट विनियोजनका हिसाबले हेर्दा युवा तथा खेलकुद क्षेत्रले अपेक्षाकृत महत्व पाउन सकेको छैन । यो वर्ष पनि कुल बजेटको शून्य दशमलब १६ प्रतिशत मात्र बजेट विनियोजन भएको स्थिति छ ।

१३ औं सागको सफल र भव्य आयोजना नेपाली खेलकुदले कायम गरेको कीर्तिमानी इतिहास प्राप्त उपलब्धि र बनेको खेलकुदको राष्ट्रिय माहोलले यो वर्ष बजेट विनियोजनको हिसाबले पनि खेलकुदले प्राथमिकता पाउने आशा अपेक्षा नेपाली खेल क्षेत्रले गरेको थियो ।’

अहिलेको समयमा कोरोना महामारीतिर सबैको ध्यान गएको हुनाले आगामी दिनहरुमा खेलकेद क्षेत्रमा सबैको ध्यान जरुरी रहेको मन्त्री विश्वकर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट न्यून भएपनि कार्यक्रम र बजेट शीर्षकको हिसाबले प्रस्तावित कार्यक्रम युवा र खेल क्षेत्रमा देखिएका समस्या र चूनौतीलाई सम्बोधन गर्न यस क्षेत्रको विस्तार र समृद्धिका लागि रोडम्याप हुनेछ । यसले दिशा निर्देश गर्नेछ ।’

उहाँले थप्नुभयो, ‘युवा क्षेत्रका देखिएका युवाहरुको समस्या र सरोकारहरुलाई मन्त्रालय, राष्ट्रिय युवा परिषद्, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र नेपाल स्काउटमार्फत् सञ्चालन हुने कार्यक्रमहरुले केही न केही सम्बोधन हुने आशा लिइएको छ ।

युवाहरुको समस्या पनि बहुआयामिक भएको र युथ इस्यु क्रसकटिङ इस्यु भएकाले विभिन्न मन्त्रालयका युवा लक्षित कार्यक्रमहरुले समेत युवाहरुको नेतृत्व विकास अवसर र रोजगारीहरुको सिर्जनामा सहयोग पुग्ने विश्वास लिइएको छ ।’

राष्ट्रिय युवा परिषदको विकास कार्यक्रमतर्फ ५ करोड २१ लाख रकम विनियोजन भएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट न्यून भएपनि कार्यक्रमका हिसाबले माननीयहरुले चिन्ता गरेजस्तै सरोकार राखेजस्तै अपांगता भएका फरक क्षमताका राष्ट्रिय युवाहरुलाई सहयोग गर्ने, युवाहरुको प्रतिभा खोजी र प्रोत्साहन, सहुलियतपूर्ण कर्जाको सहजीकरणको लागि उद्यमशीलता तथा वित्तीय तालिम, युवा परामर्श तथा मार्ग दर्शन, युवा सूचना केन्द्र सञ्चालन र व्यवस्थापनलगायतको कार्यक्रम बजेटमा व्यवस्था गरिएको छ ।’

खेल क्षेत्रमा खेलकुदको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धिको लागि खेलाडीहरुलाई तालिम प्रशिक्षणको कार्यक्रम रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘विभिन्न खेलका प्रतियोगिताहरु, खेलाडीहरुलाई आवश्यक खेलका सामग्रीहरुका लागि बजेटको व्यवस्था गरिएको छ । खेल संघहरुलाई प्रोत्साहित गर्न थोरै भएपनि बजेटको व्यस्था गरिएको छ ।’

बजेटको अभावमा थोरै भएपनि राष्ट्रिय खेल भलिभल प्रतियोगिता र लोकप्रिय खेल फुटबलका विभिन्न गोल्डकपहरु लगायतका विभिन्न खेलहरुलाई प्रोत्साहित गर्न बजेटको व्यवस्था गरिएको मन्त्री विश्वकर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसैब वर्षको फागुनमा गण्डकी प्रदेशमा आयोजना हुने पूर्वनिर्धारित १३ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सञ्चालन गर्नका लागि बजेटको प्रबन्ध गरिएको छ ।’