खेलकुदको लागि २०७६ स्वर्णमय साल

वर्ष २०७६ नेपाली खेलकुदका लागि स्वर्ण समयभन्दा फरक पर्दैन । नीति र नतिजाका हिसाबमा यो वर्ष नेपालले राम्रै उपलब्धि हासिल गरेको छ । बितेका १२ महिना नियमित प्रशिक्षण, प्रतियोगिता र सकारात्मक नतिजाले खेलकुदमय वर्षको रूपमा रह्यो ।

वर्षको सुरुमै आठौं राष्ट्रिय खेलकुदसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) तथा अन्य केही अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली खेलाडीहरू वर्षभर नै व्यस्त रहे ।

सागमा नतिजाको हिसाबमा नेपालले अहिलेसम्मकै ठूलो सफलता हासिल गर्‍यो । पूर्वाधार र नीतिमा पनि धेरै सुधार भयो । यस वर्ष खेलकुदको नियमक निकाय राष्ट्रिय खेलकुद परिषद्ले नयाँ नेतृत्व पनि पायो ।

१३ औं सागको सफल आयोजना

निर्धारित मितिभन्दा एक वर्ष ढिला गरी भए पनि नेपालले १३ औं सागको सफल आयोजना गरेको छ ।

सार्क क्षेत्रका ७ देशका करिब ११ हजार खेलकर्मीलाई आतिथ्यता दिँदै मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा सागको आयोजना भएको थियो । नेपालकै परिकल्पनामा सन् १९८४ मा सुरु गरिएको साफ (हाल साग) नेपालले तेस्रोपल्ट आयोजना गरेको थियो ।

२७ खेलको स्पर्धामा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य गरी कुल २ सय ६ पदक जितेको थियो ।

सागकै लागि भए पनि मुख्य पूर्वाधार निर्माण भयो । भूकम्पले थलिएको दशरथ रंगशालाको निर्माण काम साग सुरु हुनु केही दिनअघि सम्पन्न भयो ।

हतारमा काम भएको परिणामस्वरूप आधुनिक फ्याब्रिक प्रविधिको प्रयोग गरी हालिएको रंगशालाको भीआईपी प्यारापिटको छानोबाट पानी चुहिएको छ । नेपालमै पहिलोपल्ट वातानुकूलित प्रविधिको पौडीपोखरी निर्माण भयो । कराते हल, सुटिङ रेन्ज, टेनिस कोर्टले पूर्णता पायो । अत्याधुनिक स्क्वास कोर्ट निर्माण भयो ।

निर्माणाधीन पोखरा रंगशालामा महिला फुटबलको खेल भएको थियो । पोखरा रंगशालाकेही दिनअघिमात्र निर्माण सम्पन्न भएको छ । यसले भविष्यमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि पूर्वाधारको समस्या टरेको छ ।

यसपल्टको सागमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शनरह्यो । ६ महिनाको तयारीमा नेपालले लक्ष्यअनुसार सफलता पाएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले ५० भन्दा बढी स्वर्ण जित्ने प्रक्षेपण गरेको थियो । प्रतियोगिताको अन्तिम दिन फुटबल टोलीले उपाधि रक्षा गरेसँगै नेपालको स्वर्णसंख्या ५१ पुगेको हो ।

मुख्य हतियारको रूपमा रहेको मार्सल आर्टबाट नेपालले सबैभन्दा धेरै सफलता पायो । नेपालले जितेको ५१ मध्ये ३२ स्वर्ण मार्सल आर्टबाट थियो । तेक्वान्दोले १२ र करातेले १० स्वर्ण जितेका थिए । करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले दोहोरो स्वर्ण जिते ।

विधा परिवर्तन गरी पुम्सेमा खेलेकी आयशाले दुई स्वर्णसहित साग इतिहासमा आफ्नो स्वर्णसंख्या तीन पुर्‍याएकी हुन् । सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं सागमा उनले ग्यारोगीतर्फ स्वर्ण जितेकी थिइन् ।

नेपाली पौडीमा गौरिका सिंहले कीर्तिमान बनाइन् ।

सागमा पौडीको व्यक्तिगत स्पर्धामा पहिलो स्वर्णको इतिहाससहित गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितिन् । सागको ३५ वर्षे इतिहासमा एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले महिलातर्फ पहिलो स्वर्ण दिलाइन् । उनले १० हजार मिटर दौडमा स्वर्ण जितिन् ।

महिला भलिबल टोलीले जितेको रजत पदक पनि अहिलेसम्मकै ठूलो हो । फाइनलमा भारतविरुद्ध ३–२ को सेटमा पराजित भएपछि नेपाल स्वर्णबाट चुकेको थियो । नेपालले भारतसँग सेट जितेको यो पहिलोपल्ट हो । कुस्तीकी संगीता धामीले स्वर्ण जितेर अर्को इतिहास बनाइन् ।

सागमा पदक विजेता खेलाडीलाई सरकारले प्रतियोगिता सकिएको भोलिपल्टै पुरस्कारको घोषणा गरेको थियो । त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन । त्यस्तै प्रतियोगिता सकिएको ५ महिना बितिसक्दा पनि आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छैन । सागमा ५ अर्ब बजेट अनुमान गरिएको थियो ।

आठौं राष्ट्रिय खेलकुद

२०७५ साल अन्त्यमा केही खेल सुरु भए पनि २०७६ वैशाख ५ देखि ११ सम्म प्रदेश ५ का विभिन्न जिल्लामा राष्ट्रिय खेलकुदको आठौं संस्करण आयोजना भएको थियो । हरेक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद लामो समयपछि निर्धारित समयमै आयोजना गरिएको हो ।

सागको तयारीका रूपमा आयोजित प्रतियोगिता पूर्वाधारको तयारीबिनै हतारमा आयोजना गरिएको आरोप लागे पनि आयोजनाका हिसाबमा सफल मानिन्छ । कुल २ सय ७३ स्वर्णका लागि आयोजित प्रतियोगितामा ३५ खेल समावेश थिए । १ सय ४० स्वर्णसहित त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको थियो ।

बृहत खेलकुदका लागि प्रदेश ५ मा करिब १ अर्ब लागतमा पूर्वाधारहरू निर्माण भए । यसले भविष्यमा हुने ठूला प्रतियोगिताका आयोजनाका लागि उक्त प्रदेशलाई सहज हुनेछ । तर खेल गतिविधि कम हुने क्षेत्रमा बनेका पूर्वाधारको उपयोग र संरक्षणको चिन्ता पनि उत्तिकै छ ।

महिला भलिबलको छलाङ

२०७६ साल नेपालको महिला भलिबलका लागि स्वर्ण समय रह्यो । कात्तिक बंगलादेशमा आयोजित एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबलमा नेपालले स्वर्ण जित्यो ।

यो उपाधि नेपालका लागि किन महत्त्वपूर्ण रह्यो भने नेपाली टोलीले अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेताको स्वाद चाख्न पाएको थिएन । लामो समय राष्ट्रिय टोलीमा योगदानदिएका चार सिनियर खेलाडीलाई टिमबाट निकालेर

युवालाई अवसर दिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपालले उपाधि जित्यो ।

महिला टोलीले १३ औं सागमा पनि सानदार प्रदर्शन गरेको थियो । सेमिफाइनलमा श्रीलंकालाई पराजित गरी ऐतिहासिक फाइनल यात्रा तय गरेको नेपालले भारतसँग पराजित हुनुपरे पनि दुई सेट जितेर अर्को इतिहास बनायो । यसअघि भारतसँग नेपालले सेट जित्न सकेको थिएन । सन् १९९९ को आठौं, २००६ को दसौं र २०१६ को १२ औं सागमा नेपाली टोली कांस्यमै सीमित थियो ।

महिला टोलीको सफलताको ठीक विपरीत पुरुष टोली भने झनै कमजोर देखियो । एभीसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबलको पाँचौं संस्करण भदौमा नेपालमै आयोजना भयो । तर घरेलु टोलीको प्रदर्शन भने बिर्सनलायक रह्यो ।

६ टोलीसम्मिलित प्रतियोगितामा नेपाल पाँचौं भयो । उपाधि किर्गिस्तानले जित्यो । नेपालले अफगानिस्तानलाई मात्र हराउन सक्यो । १३ औं सागमा पनि नेपालले समूह चरण पार गर्न सकेन ।

प्रिन्सको उपलब्धि

ब्याडमिन्टनमा नेपालको अन्तर्राष्ट्रिय उपलब्धि उल्लेखनीय छैन । किशोरा खेलाडी प्रिन्स दाहालले केही सम्भावना देखाएका छन् । प्रिन्स ब्याडमिन्टन जुनियर विश्व वरीयताको सातौं स्थानमा छन् ।

यो नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । गत महिना नेदरल्यान्ड्स र जर्मनीमा सम्पन्न जुनियर इन्टरनेसनल सिरिजमा प्रि क्वाटरफाइनलको यात्रा तय गरेपछि उनले विश्व वरीयतामा शीर्ष ७ को यात्रा तय गरेका हुन् ।

भदौमा सम्पन्न दुबई जुनियर इन्टरनेसनल च्यालेन्जको उपाधि विजेता प्रिन्स पुसमा नेपालमै सम्पन्न राष्ट्रपति कप नेपाल जुनियर इन्टरनेसनल सिरिजको फाइनलमा पराजित भएका थिए । प्रिन्सले वर्ष २०७६ मा नौवटा जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको टिम इभेन्टमा उनले नेपाल नम्बर एक रत्नजित तामाङलाई पराजित गरी सनसनी मच्चाएका थिए । १३ औं सागमा उनले टिम र युगलमा गरी दुई विधामा कांस्य पदक जिते ।

खेलकुद विधेयक पारित

देशमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेको छ । तर खेलकुदका संरचना पुरानै ऐनअनुसार चल्दै आएको थियो । संघीय संरचनाअनुसार २०४८ सालमा बनेको खेलकुद ऐनलाई प्रतिस्थापन गर्ने गरी ल्याइएको खेलकुद विधेयक संसद्को दुवै सदनबाट पारित भएको छ ।

पहिलोपल्ट २०७५ फागुनमा राष्ट्रिय सभामा पेस भएको यो विधेयक करिब एक वर्षको बीचमा दुवै सदनबाट पर्याप्त संशोधनसहित पारित भएको हो । अब राष्ट्रपतिबाट प्रमाणीकरण हुने चरणमा छ ।

संघीयतापछि विकेन्द्रीकरणको सिद्धान्तअनुसार खेलकुद संरचनालाई ऐनले आफ्नो क्षेत्राधिकारमा समावेश गरेको दाबी गरिएको छ । २०७६ साउन १६ मा राष्ट्रिय सभाबाट पारित भएपछि पुनः छलफलका लागि भदौ १ गते प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएको विधयेकमा दर्जनभन्दा बढी संशोधन भएका छन् । राखेप बोर्ड सदस्यसंख्यालाई कटौती गरिएको छ । यसअघि ४२ सदस्यीय हुने प्रस्ताव भएकोमा घटेर ३७ सदस्यीय हुनेछ ।

राखेपको बोर्ड बैठक बस्न नसकेको अवस्थामा महत्त्वपूर्ण निर्णयका लागि सदस्य–सचिवको संयोजकत्वमा ७ सदस्यीय कार्यकारिणी समिति रहने व्यवस्था ऐनमै उल्लेख छ । यसअघि यस्तो अवस्थामा सदस्य–सचिवको एकल निर्णय हुने गरेको थियो ।

संशोधित विधेयकमा राखेप सदस्य–सचिव नियुक्तिका लागि खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा कम्तीमा एक महिलासहित दुईजना विज्ञलाई मन्त्रीले छनोट गर्न सक्नेछन् ।

स्नातक तह उत्तीर्ण भएको, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव र ३० वर्ष पूरा भएको व्यक्ति सदस्य–सचिवका लागि योग्य हुने गरी न्युनतम योग्यताको मापदण्ड ऐनमै तोकिएको छ । नयाँ ऐन बन्ने प्रक्रियामा रहेको भन्दै राखेपले देशभरका आफ्ना क्षेत्रीय कमिटीमा नेतृत्व नियुक्त गरेको छैन । ऐन बनेपछि सबै प्रदेशका खेलकुद कमिटीले पूर्णता पाउनेछ ।

@Kantipur