खेलकुदको पूर्वाधारमा क्‍वारेन्टाइन निर्माण गर्न दिइने

Pic:- Kantipur

राष्ट्रिय खेलकुद परिषद्ले कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्‍नका लागि आफ्नो भौतिक पूर्वधारलाई क्वारेन्टाइनको रुपमा उपयोग गर्न उपलब्ध गराउने भएको छ ।

परिषद्ले सोमबार जारी विज्ञप्तिमा लेखिएको छ,‘सरकारको निर्णयअनुसार क्‍वारेन्टाइन निर्माणको लागि आवश्यक पर्ने परिषदअन्तर्गत उपत्यकामा रहेका दशरथ रंगशाला, सातदोबाटोस्थित खेलकुद परिसर, मुलपानी, कीर्तिपुर, च्यासल, सानो गौचरनलगायत सातै प्रदेश तथा जिल्लामा रहेका भौतिक पूर्वाधार उपयोग गर्न अनुरोध गर्दै कोरोनो संक्रमणको रोकथामको लागि परिषद ऐक्यबद्धता व्यक्त गर्दछ ।’

यसअघि आइतबार अखिल नेपाल फुटबल संघले पनि सातदोबाटो, बुटवल, धरान र रौतहटमा रहेको आफ्नो भौतिक पूर्वधारलाई क्वारेन्टाइनको रुपमा उपयोग गर्न उपलब्ध गराउने जनाएको थियो । एक सातायता परिषदकै निर्देशनमा देशभर खेलकुद गतिविधि पनि बन्द गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदले कोभिड १९ महामारीबाट बच्‍नलाई सरकारले चेतना अभिवृद्धिको लागि गरेको अपिललाई व्यवहारिक रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । उसले विज्ञप्तिमा भनेको छ,‘विश्वव्यापी महारमारीको रुपमा देखा परेको कोरोना भाइरस संक्रमणबाट बच्‍न चेतना अभिवृद्धिको लागि सरकारले गरेको अपिल व्यवहारिक रुपमा पालना गर्न आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछ । साथै कोरोना संक्रमणको रोकथामको लागि जारुक गराउन खेलकुद क्षेत्रमा आबद्ध सबैमा अपिल गर्दछ ।’

हालसम्म नेपालमा दुई जनालाई कोभिड १९ संक्रमण भएको भेटिएको छ । त्यसमध्ये एक जना संक्रमणमुक्त भइसकेका छन् भने फ्रान्सबाट ४ चैतमा दोहा हुदै स्वदेश फर्किएकी एक युवतीको स्वाब परीक्षणमा सोमबार कोभिड १९ पोजिटिभ देखिएको हो ।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ